हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ जेठ । नेपाल अहिले धर्मनिरपेक्ष राज्य हो । यसलाई खारेज गरी पुनः हिन्दु राज्य बनाउनुपर्ने आवाज बेलाबेला उठिरहन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा हिन्दु राष्ट्र हटाएर धर्मनिरपेक्षतालाई समावेश गरेसँगै नेपालको संविधान २०७२ मा नेपाल पूर्ण रूपमा धर्मनिरपेक्षता राष्ट्र घोषणा भए पश्चात् देशमा हिन्दुत्व र हिन्दु धर्म संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको र धर्मान्तरण बढिरहेको भन्दै विभिन्न हिन्दु सङ्घ सङ्गठनहरूले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको पुनः स्थापनाको लागि माग गर्दै आइरहेका छन् ।
यस क्रममा कञ्चनपुरको बेलौरीमा हिन्दु स्वयंसेवक सङ्घ नेपालले शनिबार आयोजना गरेको सङ्घ शिक्षा प्रशिक्षण वर्गको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जनतालाई झुक्क्याएर षड्यन्त्र पूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर हिन्दु राष्ट्र लेखिनुपर्ने माग गर्नु भएको छ । त्यस्तै जनगणना मार्फत हिन्दुलाई ११ ठाउँमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दु राष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठुलो षड्यन्त्र भइरहेको आरोप लगाउँदै पूर्व प्रधानन्यायाधीश पराजुलीले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गर्नुभयो ।
हिन्दु स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सह–संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाले हिन्दु राष्ट्रको माग राजनीतिक नभई सांस्कृतिक रहेको बताउनु भयो । नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिद्ध्याउनको लागि षड्यन्त्र भइरहेको चर्चा गर्दै हिन्दु राष्ट्र पुनर्स्थापित हुनुपर्ने माग गर्नुभयो । केही नेताहरूले देशलाई रातारात धर्म निरपेक्ष घोषित गरेको प्रति असन्तुष्टि प्रकट गर्दै उहाँले आफ्नो संस्कार माथि कुनै प्रकारको हस्तक्षेप भएमा बहिष्कार गर्नुपर्ने बताउँदै सबैलाई यस अभियानमा लाग्न आह्वान समेत गर्नुभयो । तिम्सिनाले हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान भएको बताउँदै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित पशुपति शिक्षा मन्दिरको प्राङ्गणमा हिन्दु स्वयंसेवक सङ्घ नेपालले आयोजना गरेको २० दिवसीय सङ्घ शिक्षा वर्ग प्रथम वर्ष २०७९ को समापनका क्रममा सम्पत्, अतिथि आगमन, ध्वजारोहण, प्रार्थना, शारीरिक प्रदर्शन, वर्ग परिचय, उद्बोधन र धन्यवाद ज्ञापन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।