हरिश चन्द्र बाग, कञ्चनपुर, १२ पुस । पछिल्लो समयमा बढ्दै गरेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको आयोजनामा शुक्रबार कञ्चनपुरको बेलौरीमा सञ्चालित कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण सम्बन्धी एकदिने सचेतना कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले जनचेतनाको अभावले उपभोक्ताहरु ठगिने गरेको निष्कर्ष निकालेका छन् ।
कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि तीनै तहका सरकारका साथै सरकारको स्वामित्वमा रहेका निकायहरुको पनि सहयोग अपरिहार्य रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीको धारणा छ । त्यस्तै, विभिन्न कारण बजारमा गुणस्तरहीन अखाद्य वस्तु भित्रिने तथा अनियन्त्रित मूल्य वृद्धिजस्ता समस्याको समाधानमा नगरपालिका केन्द्रित रहेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको दाबी छ । सार्वजनिक तथा निजी साझेदारीका रूपमा रहेका संस्थाहरुको समन्वय समेत अपरिहार्य र ती निकायको भूमिका अझ महत्वपूर्ण रहेको बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीको भनाइ छ ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका उपभोक्ताहरुले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्नसके सहज हुने बताएका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रशासन तथा योजना शाखा, वाणिज्य शाखा र आपूर्ति शाखाका शाखा अधिकृत धर्मराज जोशी, कानुन अधिकृत मान बहादुर लामा र बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले प्रशिक्षण दिनुभएको थियो ।
यसैबीच, पछिल्लो समयमा बढ्दै गरेको कालोबजारी र कृत्रिम अभावलाई कसरी नियन्त्रण गर्न सकिएला भनी हामीले कञ्चनपुरको बेलौरीका केही व्यक्तिहरुलाई सोधेका छौँ । प्रस्तुत छ, भक्सपप ।।
https://d3ctxlq1ktw2nl.cloudfront.net/staging/2019-11-28/41049107-44100-2-36b84e9ac896b.m4a