१) भुँवा पर्वको परिचय र पृष्ठभूमि :
भुँवा भन्नाले सुकेका दाउरा, घँसेटा, घाँस तथा पातपतिङ्गरको थुप्रो भन्ने बुझिन्छ । यस पर्वमा सुकेका दाउरा, घाँस आदिको ठुलो थुप्रो बनाइन्छ भने त्यस थुप्रोको बीचमा सल्लाको बुटो खडा गरिन्छ ।
२) पृष्ठभूमि :
यस पर्वको पृष्ठभूमि द्वापर युगमा पाण्डहरूले ढाल, तरवार आदि अतियार चलाउने सिप रहेको छ । तत्कालिन क्षेत्रीयहरूले युद्ध गर्न आफू युद्धकला र हतियार चलाउनमा दक्ष बन्न खोजेका हुन्थे । आत्मरक्षाको लागि पनि शस्त्रविद्यामा निपुण बन्ने गर्दथे ।
३) यस पर्वले चारवटा विषयलाई यसरी छोएको मानिन्छ :
अ) युद्धकला :
द्वापरको मानव समाजमा ब्राह्मण र क्षेत्रीले युद्धकला तथा शस्त्र विद्यातिर निकै झुकाव राख्दथे । खास गरी क्षेत्रीका छोराहरू सानै देखि हतियारलाई आफ्नो खेलौना मान्दै एकातिर खेलको आनन्द लिन्थे भने अर्कातिर हतियार चलाउने सीप पनि सिक्दथे । यसै अवस्थालाई सन्यासीका अखाडाहरूमा पनि अपनाइयो । कालान्तरमा सन्यासीका अखाडामा समेत शास्त्रविद्याका साथै अदृश्यरूपले शस्त्रविद्या पनि सिकाइन्थ्यो । किनकी भुँवाको विशेषता गाथाको रूपमा गाउँदा दशनामी सन्यासी हरिद्वारबाट पथयात्रा गर्दै वासबस्ने ठाउँमा वास बस्दै भुँवा पनि गाउथे भन्ने प्रसंग आउँछ । त्यस प्रसंगलाई सुदूरपश्चिम निवासी दमाई जातिले समेत भाडा (गीत) का रूपमा गाउँने गर्दथे । त्यस भाडामा वर्णन गरिए अनुसार ती दशनामी सनयासी सेती अञ्चलको दीपायल पुगे । त्यहाँ भुँवा गाए भन्ने वर्णन छ ।
आ) होलिका संग भुँवाको सम्बन्ध :
हिरण्यकश्यपकी बहिनीको नाम होलिका थियो । यो पौराणिक दृष्टान्त हो । नास्तिक हिरण्यकश्यपले आफ्नो छोरालाई आफैँ जस्तो बनाउने क्रममा प्रह्लाद आस्तिक भएकाले आफ्ना बुबाजस्तो बनेनन् । तब भक्त प्रह्लादलाई आगोले जलाएर मार्ने विचार गर्दा होलिकासंग सहयोग मागे ब्रह्माजीको वरदानले होलिकाले आगोले जलाउन नसक्ने सौल (चादर) पाएकी थिइन् । त्यसै चादरलाई ओढेर बालक भक्त प्रह्लादलाई काखमा राखेर भुँवामा बसी । अरुले आगो लगाए । ईश्वरको प्रेरणा पाएर हावा जोरसँग चल्यो र सौल उड्यो । होलिका जली । प्रह्लादलाई आगोले कुनै प्रभाव पारेन ।
भुँवा पर्व मनाउँदा पनि दाउराको चाङ बनाइन्छ र चाङको बिचमा सल्लाको बुटो खडा गरिन्छ । भुँवा (दाउरको चाङ) लाई आगो लगाई सकेपछि बल्दै गरेको भुँवाबाट सल्लाको बुटो झिकेर बाहिर सकुशल ल्याइन्छ । यसको अर्थ गर्दा दाउराको चाङ होलिकाको रुप हो जो जलेर भष्म हुन्छ भने सल्लाको बुटो प्रह्लादको रुप हो जसलाई बचाइन्छ । अब कुनैले होलिका दाह त फागु पूर्णिमाको दिन हुन्छ भने रैका भुँवा मंशिर औंसी र मूल भुँवा पुसे औंसीमा मनाएर फागु पूर्णिमा भन्दा पहिले नै होलिका मानेर किन जलाइयो भन्ने प्रश्न पनि गर्न सक्लान तर भगवानका भक्तलाई दुःख दिने व्यक्ति लामो समयसम्म नबाँचोस् त्यस्तालाई विचारले एवम् त्यसको प्रतीक पुतला रुपले छिटै मार्नुपर्छ भन्ने आधारमा मंशिर औंसी र पुसे औंसीमा नै भुँवा जलाउने परम्परा बसेको हुन सक्छ ।
इ) नेपालका राजारजौटासंग भुँवाको सम्बन्ध :
भुवाँ गाथामा (गीतमा) प्राचीन पाण्डव आदि वीरहरूको वर्णन गरिन्थ्यो । त्यो सुनेर तत्कालिन नेपालका बाइसे चौविसे राजा, गाउँका मुखिया, लडाकू वीरहरू र गाउँका म ठुलो हुँ भन्ने विचार भएका ठालूहरूले साधारण मानवलाई करकाप र बाध्य गर्दै भुँवा गाथासंग हाम्रा वीरता र विशेषता जोड्नु पर्दछ भनेको हुन सक्छ । यसै आधारमा भुँवा गाथाका बिच बिचमा नेपालका माथि लेखिएका व्यक्तित्वको पनि वर्णन आउँछ । यस आधारमा नेपालका राजा रजौटासंग पनि भुँवा गाथाको सम्बन्ध मानिन पुग्छ ।
ई) वर्तमानमा भुँवा मनाउने उद्देश्य :
हरिद्वारबाट आएका दशनामी सन्यासीले सेती अञ्चलको दीपायल क्षेत्रमा भुँवा गाथा अभिनय सहित देखाइएकोले यसको प्रभाव सेती अञ्चलका जिल्लाहरुमा पर्न गयो । वर्तमान प्रजातान्त्रिक उदारवादी संविधान भएको अवस्थामा यस पर्वलाई प्राचीन इतिहास र मान्यता झल्काउने उद्देश्यले, मानव समाजलाई मनोरञ्जन र युद्धकलाको सारसंक्षेप ज्ञान दिने उद्देश्य लिंदै संस्कृति र क्षेत्रीय पर्वको रूपमा मनाउने गरिएको छ ।
४) भुँवा पर्व मनाउने तरिका :
यस पर्वलाई एक सालमा दुईचोटी मनाइन्छ । पहिलोचोटी रैका भुँवाको नामले मंसिरको औंसीमा भुँवा जलाइन्छ र मंसिर शुक्ल द्वितीया तिथिमा अनेक मिष्ठान्न पकाएर चाडपर्व मनाइन्छ । दोस्रो चोटी भुँवाको नामले पुसे औंसीमा भुँवा जलाइन्छ र पौष शुक्ल द्वितीया तिथिमा मिष्ठान्न पकाएर खान्छन् अनि द्वितीया देखि पूर्णिमासम्म मंशिरमा पनि पौषमा पनि बायाँ हातमा ढाल र दायाँ हातमा तरबार लिएर युद्धक्रीडाको अभिनयका साथ भुँवा गाथा गाउँदै देखाइन्छ ।
वर्तमानको देउसी, भैलो र होली खेलेझैं गाउँ–गाउँमा गएर भुँवा खेलिन्छ । रुपियाँपैसा उपहार लिनेदिने गरिन्छ । यदि पुसे पूर्णिमा माघ महिनामा पर्न गयो भने माघमा भुँवा खेलिदैन र पौषभित्र नै भुँवा खेलाई विश्राम दिइन्छ । उपहारमा आएको पैसाले समाजसेवा तथा रमाईलो भोज गरिन्छ । भुँवा जलाउने आगो गाउँका मुखिया घरबाट मसाल बालेर ल्याइन्छ भने मुखियाले भुँवा खेल्नेहरूलाई स्म्मानस्वरुप अल्पाहार गराउने, खसीबोका समेत दिने चलन रहेको पनि देखिन्छ ।
यसरी मैले जानेबुझेको र खोज गरे अनु्सार भुँवा पर्वको बारेमा लेखें । त्रुटि भएकोमा सुझाव, सल्लाह सहर्ष स्वीकार गरिने छ । शुभम्
खोजकर्ता तथा लेखक
शिक्षक श्री शिवदत्त जोशी
श्री शान्ति मा.वि., बेलौरी नगरपालिका ०४, कञ्चनपुर