देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरिवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहा निर्देशक हेमराज रेग्मीले जानकारी दिनु भएको छ ।
वैशाख ६ देखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरिवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो । यो सातौँ कृषि गणना हो । सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपक्षी पालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् ।
राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झन्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । राज्यले कृषिप्रधान मुलुक भने पनि भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कूल आयातको करिब एक तिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको छ ।
यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रूपमा बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरिने भएको छ । यसअघिको कृषि गणनाले १० लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख छ । विज्ञका अनुसार नेपालमा बाँझो जमिनको आँकडा फराकिलो बन्दै गएको छ । कृषि गणनाले किसानको सङ्ख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको सङ्ख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बीउ विजनको प्रयोग आदिका बारेमा तथ्याङ्क बाहिर आउने छ ।