हरिश्चन्द्र बाग, कञ्चनपुर, २० चैत्र । कञ्चनपुरको बेलौरीमा नेपाल-भारत सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसारका घटना, घरेलु हिंसा र यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ । शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको आयोजनामा आइतबार अन्तरक्रिया गरिएको हो ।
बेलौरी नगरपालिकाका नगर उपप्रमुख चित्र कुमारी चौधरी, बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख विमला बजगाईँ, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमल कुमार खड्का, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलौरीका प्रमुख जयन्त सिंह डडाल, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउँद, महिला अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रमा काम गर्ने सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले जानकारी दिनुभयो ।
त्यस क्रममा सहभागीहरूले कञ्चनपुरको दक्षिणी क्षेत्र (विशेष गरी बेलौरी क्षेत्र) मा मानव बेचबिखनको अवस्था, त्यस विरुद्ध भइरहेका गतिविधि, रोकथामका चुनौती, जनचेतना प्रवाहको आवश्यकता, घरेलु तथा यौनजन्य घटनाहरूको न्यूनीकरणका लागि गर्न सकिने गतिविधिहरूका विषयमा छलफल गर्नुभएको छ । गलत गतिविधिहरूलाई निरुत्साहित गरी सभ्य समाज निर्माण गर्न सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने हुँदा अभियान कै रूपमा सकारात्मक गतिविधि बढाउनुपर्ने अन्तरक्रियामा सहभागीहरूको भनाइ छ ।
शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कञ्चनपुरले पनि मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सक्रिय रूपमा काम गर्दै आइरहेको छ । सरकारी तथा गैर सरकारी संघसंस्थाहरूसँग समन्वय तथा सहकार्य गर्दै मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न विविध गतिविधि गरिरहेको शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कञ्चनपुरका प्रमुख सञ्जित सिंहको भनाइ छ । शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले पछिल्लो डेढ वर्षदेखि कञ्चनपुरको दक्षिणी क्षेत्रमा विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर सीमा निगरानी, पुनर्स्थापना, पुनर्मिलन, क्षमता विकास र जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताइएको छ ।