हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ चैत्र । नेकपा एमाले कञ्चनपुरले २१ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ भने लेखा कमिटी र सल्लाहकार परिषद् पनि गठन गरेको छ । जिल्ला कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्न पाउने प्रावधान अनुसार अर्जुन कार्की, रामचन्द्र रेग्मी, अक्कल बहादुर बिष्ट, ईश्वरा कुँवर, जयनारायण जोशी, विष्णु बिक, सरस्वती रावल, किशोर लिम्बू, जनक अवस्थी र ओम बस्नेतलाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरिएको छ । त्यस्तै एकताको निरन्तरता र अन्य पार्टीबाट प्रवेश गरेकाहरू मध्ये राधा कृष्ण जोशी "ज्वाला", कुमा शाही, जगत बहादुर सिंह, गणेश भट्ट, बल बहादुर बिक, हरिश बोगटी, टेक बहादुर साउद, धिरेन्द्र कठायत, धिरेन्द्र जोशी, दीपक ओझा र अर्जुन भट्ट समेत जिल्ला कमिटी सदस्यमा मनोनीत हुनु भएको छ ।
त्यस्तै, लेखा कमिटी अध्यक्षमा सागर जोशी, उपाध्यक्षमा गोपाल पाण्डेय, सचिवमा प्रेम अर्याल र सदस्यहरूमा निर्मला भण्डारी, लक्ष्मी भट्ट, लक्ष्मी बोहरा तथा नितेश रावल चयन हुनु भएको छ । पार्टीको जिल्ला कमिटीमा लेखा कमिटी अध्यक्ष सचिवालय सदस्य सरह र अन्य पदाधिकारी तथा सदस्यहरू जिल्ला कमिटी सदस्य सरह कै भूमिकामा सहभागी हुन पाउने नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । पार्टीले गठन गरेको सल्लाहकार परिषद् अध्यक्षमा हिरालाल थापा, उपाध्यक्षमा सीता बोहरा र सचिवमा अमर जङ्ग शाही सहित १२० सदस्य रहनु भएको छ ।
मनोनीत सदस्यहरूलाई जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा आइतबार आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ । नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज निरुदेवी पाल प्रमुख अतिथि रहनु भएको थियो । जिल्ला कमिटीले थुप्रै नेताहरूलाई माथिल्लो कमिटीका लागि समेत सिफारिस गरी सबैलाई जिम्मेवारी दिने प्रयास गरेको सचिव भट्टको भनाइ छ ।