हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ फागुन । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागबाट खटिएको अध्ययन टोलीले कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरेको छ । मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुक्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जम्मा ९० किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनका सिलसिलामा दुवै जिल्लाका सम्बन्धित पालिकाहरूसँग छलफल गरेको हो । उक्त रेलमार्ग पूर्वपश्चिम राजमार्गको दक्षिण करिब ३ सय मिटरदेखि १ हजार ३ सय मिटरसम्म टाढा रहने बताइएको छ ।
सुक्खडदेखि गड्डाचौकीसम्म कैलालीका घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाको भूभागमा रेलमार्गका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिरहेकोले यिनै पालिकाहरूसँग छलफल गरिएको अध्ययन टोलीका सदस्य एवं वातावरण विद् रिकेश चित्रकारले जानकारी दिनुभयो । सुक्खडदेखि गड्डाचौकीसम्म जम्मा ११ स्थानमा स्टेशन रहने बताइएको छ ।
रेलमार्ग निर्माण सम्बन्धी कञ्चनपुरको लालझाडी गाउँपालिकामा आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलका क्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सम्बन्धित क्षेत्रका नागरिकहरूलाई क्षतिपूर्ति तथा मुआब्जा उपलब्ध गराएर मात्रै काम अगाडि बढाउन सुझाव दिनुभयो । अधिकांश भूभाग खेतीयोग्य जमिन भएको र बाक्लो मानव बस्ती रहेको हुँदा त्यसलाई समेत व्यवस्थित गरेर काम गर्नुपर्ने उहाँको भनाइ छ । लालझाडी गाउँपालिकाको ४ नम्बर वडालाई रेलमार्गले छुने बताइएको छ ।
अध्ययन टोलीले आयोजना स्थलका विभिन्न कार्यालयहरूमा आवश्यक सूचना प्रवाह गर्ने, आयोजना स्थलको वातावरणीय अवस्था सम्बन्धी आवश्यक सूचना सङ्कलन गर्ने, विभिन्न कार्यालय, संघसंस्था, सरोकारवाला एवं जनसमुदायसँग छलफल गर्ने साथै माटो तथा पानीको नमुना सङ्कलन गर्ने, ध्वनि तथा वायुको स्तर मापन गर्ने र विभिन्न कार्यालयहरूबाट आवश्यक सूचना सङ्कलन गर्ने कार्यलाई निरन्तरता दिएको छ । विद्युतीय रेलमार्ग सञ्चालनमा आएपछि प्रतिघण्टा २ सय किलोमिटरको गतिमा रेल चल्ने वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन टोलीका सदस्य एवं वातावरण विद् रिकेश चित्रकारले बताउनु भयो ।