कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले राजसंस्था सहितको हिन्दु राष्ट्र र भ्रष्टाचार मुक्त नेपाल बनाउने आफ्नो अभियान रहेको बताएका छन् । विभिन्न सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न कञ्चनपुर आइपुगेका प्रवक्ता शाहीले मिडिया नेपाल कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली जनभावना र माटो सुहाउँदो शासन व्यवस्था राजसंस्था र हिन्दु राष्ट्र भएकाले त्यसलाई स्थापित गर्न राप्रपा कटिबद्ध रहेको बताए ।
राजा र प्रजा मिलेर बनाएको देशलाई वर्तमान अवस्थाका शासकहरूले राजनीति गर्ने क्रिडास्थल मात्रै बनाएको र देश विकासको नाममा भ्रष्टाचार गरेको उनको आरोप छ । सङ्घीयताको खारेजी, भ्रष्टाचारबाट देशलाई मुक्त बनाई सुशासन र समृद्धि ल्याउने सम्पूर्ण देशभक्त नेपाली राप्रपामा समाहित हुन उनले आग्रह गरे । राष्ट्रिय प्रजातन्त्रको एजेन्डालाई गाउँ गाउँमा पुर्याई समृद्ध नेपालको परिकल्पनामा साथ दिन उनले सबैलाई आग्रह गरे । उनले चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका छन् । प्रवक्ता शाहीले अब जनताबाट सीधै प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।
मुलुकको हितका लागि सांसदबाट प्रधानमन्त्री नभई सीधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नुपर्ने बताए । प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेन्डा लिने बताए । एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै उनले यो कार्यान्वयन हुन नसक्ने बताए । उनले एमसीसी ल्याउनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख हात रहेको आरोप लगाएका छन् । कञ्चनपुरका आरक्ष पीडितको पुनर्स्थापनाका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।
राप्रपामा बढ्दै जनलहर ।।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा दिन प्रतिदिन जनलहर बढ्दै गएको छ । देशका विभिन्न स्थानमा ठुलो सङ्ख्यामा अन्य पार्टीका कार्यकर्ताहरू राप्रपा प्रवेश गर्न थालेका छन् । राजसंस्था सहितको हिन्दु राष्ट्र नेपालको नारा बोकेको राप्रपामा पछिल्लो समय जनताहरू आकर्षित हुन थालेका छन् । बुधबार राप्रपा कञ्चनपुरले आयोजना गरेको विभिन्न सभाहरूमा अन्य पार्टीबाट विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरू प्रवेश गरेका छन् । राप्रपाले कञ्चनपुरको विभिन्न स्थानमा गरेको कार्यक्रममा करिब २ सय जनताले विभिन्न दल परित्याग गरी राप्रपा रोजेका छन् ।
भीमदत्त नगरपालिका १० जिमुवामा गरेको कार्यक्रममा १२७ जना, भीमदत्त नगरपालिका १३ को साझा चोकमा गरेको कार्यक्रममा ३४ जना, वेदकोटमा भएको कार्यक्रममा २२ जना र कृष्णपुरमा भएको कार्यक्रममा १२ जनाले राप्रपा प्रवेश गरेको राप्रपा भीमदत्त नगर समितिका अध्यक्ष करन पालले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दको सभापतित्वमा भएका विभिन्न कार्यक्रमहरूलाई राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही, सुदूरपश्चिम प्रदेश अध्यक्ष लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा राप्रपा प्रवेश गरेका नवप्रवेशीहरुले पटक पटक अरू पार्टीलाई साथ दिँदा पनि देशको लागि भ्रष्टाचार र घात बाहेक केही नगरेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको माटो सुहाउँदो राजनीतिक व्यवस्था ल्याउने विश्वासका साथ राप्रपामा प्रवेश गरेको बताएका थिए ।