हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकाले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ मनाइएको ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी एनएनएसडब्लुए र शान्ति पुनर्स्थापना गृहको सहयोग र सहकार्यमा बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा मंगलबार र्याली सहित बेलौरी बजार परिक्रमा गरी बेलौरीको खुला मञ्चमा मूल समारोह आयोजना गरिएको हो ।
त्यस अवसरमा औपचारिक कार्यक्रम सहित गीत, कविता, नाटक, झाँकी र नृत्य समेत प्रस्तुतीकरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईँले जानकारी दिनु भएको छ । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता, महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तनले महिलामा पारेको असर जस्ता विषयहरू समेटेर गीत, कविता, नाटक, झाँकी र नृत्य प्रस्तुतीकरण गरिएको थियो । त्यस्तै, विभिन्न जातजाति, भाषा संस्कृति झल्काउने मौलिक नृत्य तथा झाँकीहरू समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । उक्त क्रियाकलापमा सहभागीहरूलाई नगद र प्रशंसा पत्र समेत प्रदान गरिएको शाखा प्रमुख बजगाईँले बताउनु भएको छ ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले लामो सङ्घर्ष र आन्दोलनका बाबजुद महिला हिंसा विरुद्धको कानुन बनेको बताउनु भयो । नेपालको संविधानमा समेत महिलाको हकलाई प्राथमिकता दिएको र त्यसको सफल कार्यान्वयनमा सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । ग्रामीण परिवेशमा अझै पनि महिलाहरू पछाडि पारिएको परिस्थितिलाई उल्लेख गर्दै नगर प्रमुख चौधरीले तीनै तहका सरकार र सरोकारवाला निकायले सशक्त ढङ्गबाट जनचेतना प्रवाह गरिरहेको बताउनु भएको छ ।
त्यस्तै, नगर उपप्रमुख चित्र कुमारी चौधरीले महिला हिंसा अन्त्यका लागि पुरुषको सहयोग अनिवार्य रहेको बताउनु भयो । महिलाले नै महिला माथि हिंसा गरेका थुप्रै घटनाहरू देखिने गरेकोले त्यस किसिमका गतिविधिहरूलाई समेत रोक्न आवश्यक रहेको उहाँले औँल्याउनु भयो । देश सङ्घीयतामा गइसकेपछि स्थानीय तहका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहेको र त्यहाँ पनि थुप्रै हिंसाका घटनाहरूका उजुरी आउने गरेको बताउँदै उपप्रमुख चौधरीले हिंसा विरुद्ध घरघरबाटै जागरूक हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले अधिकारको सदुपयोग गर्दै आआफ्नो दायित्व समेत निर्वाह गर्न सबैलाई अनुरोध गर्नुभयो । महिलाहरू हरेक तबरबाट सक्षम रहेको प्रस्ट्याउँदै उहाँले कर्मशील बन्न प्रेरित गर्नुभएको छ । हिंसात्मक गतिविधिलाई रोकथाम गर्न हरेक व्यक्तिको जिम्मेवारी रहने भएकोले आआफ्नो कर्तव्यपालना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा लाग्न उहाँले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बेलौरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयहरूका प्रधानाध्यापक एवं प्रतिनिधिहरू र विद्यार्थीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, नगर क्षेत्र भित्रका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, आमा समूह, महिला समूह, महिला अधिकारकर्मी, युवा समूह, सञ्चारकर्मीहरू, नागरिक समाज र सरोकारवाला सर्वसाधारणहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
अखिल नेपाल महिला संघद्वारा बेलौरी बजारमा सरसफाइ तथा विविध कार्यक्रम ।।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेलौरी नगर कमिटीको आयोजनामा कञ्चनपुरको बेलौरी बजारमा सरसफाइ कार्यक्रम गरिएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बेलौरी बजार क्षेत्र सरसफाइ गरिएको अखिल नेपाल महिला संघ बेलौरी नगर कमिटीका अध्यक्ष चित्रकला चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा सरसफाइसँगै नेकपा एमाले बेलौरी नगर कमिटीको पार्टी कार्यालयमा विविध कार्यक्रम गरी महिला दिवस भव्यताका साथ मनाइएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कनले सन् १९१० मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिएको हो । साथै वि.सं. २००८ फागुन २४ गते कामक्षा देवी श्रेष्ठको अध्यक्षतामा अखिल नेपाल महिला संघको स्थापना भएकोले हरेक वर्ष फागुन २४ गतेका दिन अखिल नेपाल महिला संघको स्थापना दिवस समेत मनाउने गरिएको नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहरा बताउनु भयो । यस अवसरमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघले सकारात्मक सन्देश प्रवाहका लागि कञ्चनपुर सहित देशैभर विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरेको उहाँको भनाइ छ ।
बेलौरी बजार सरसफाइ र पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, प्रदेश सदस्यद्वय चित्रकुमारी चौधरी र करमसाय राना, जिल्ला सदस्यहरू धनेश पन्त, दुर्गा खरेल, गीता जैसी, कमला चौधरी, नगर कमिटी अध्यक्ष बाबुराम न्यौपाने लगायतको समेत उपस्थिति रहेको बताइएको छ ।