हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४० जना किशोरीहरूलाई साइकल वितरण गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा शनिबार भीमदत्त नगरपालिकाले विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा नगर क्षेत्रभित्रका ८ वटा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित तथा जेहनदार ४० जना किशोरीहरूलाई साइकल वितरण गरेको नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकाले विद्यालयहरूसँग छात्राहरूले २० वर्ष अघि विवाह तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत गरेको छ ।
दिगो विकासका लागि जलवायु परिवर्तन नियन्त्रण र वातावरणमैत्री नीति तथा कार्यक्रमको आवश्यकता महसुस गर्दै भीमदत्त नगरपालिका स्वच्छ वातावरण निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ छ । फोहोरलाई धेरै हदसम्म श्रोत मै व्यवस्थापन गर्न र वातावरणमैत्री नीति अवलम्बन गर्न नगरपालिकाले एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि सुरुवाती चरणदेखि नै प्रयास गदै आइरहेको र यसमा स्थानीय नागरिक सहित सबै पक्षको सहयोग आवश्यक रहेको नगर प्रमुख बिष्टले उल्लेख गर्नुभयो ।
भीमदत्त नगरपालिकाले युएनडिपी, निड्स नेपाल, ग्रिन वे, एनसेल, एनएमबी बैङ्क, आईएमई पे, काठमाडौँ साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल लगायतका सङ्घसंस्थाहरूको साझेदारीमा साइकल वितरण गरेका हो । साइकलको प्रयोग मानव स्वास्थ्य, वातावरण र आर्थिक तीन वटै कुराले फाइदाजनक रहेकोले किशोरीहरूको विद्यालय अध्ययनलाई निरन्तरतासँगै वातावरण स्वच्छता, आर्थिक बचत र स्वस्थ जीवनशैलीका लागि साइक्लिङको प्रचार लगायतका क्षेत्रमा टेवा पु¥याउने उद्देश्यका साथ साइकल वितरण गरिएको सहयोगी संस्थाहरूले जनाएका छन् । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सहर सफा राख्न, साइकलको उपयोग बढाउन, स्वस्थ नागरिक बन्न र स्वस्थ अभियानलाई अगाडि बढाउन सबैलाई अनुरोध गर्नुभयो ।
भीमदत्त नगरपालिकाले निःशुल्क साइकल उपलब्ध गराएपछि विद्यालय आवागमनमा निक्कै सहज हुने लाभग्राही किशोरीहरूको भनाइ छ । सिद्धनाथ मावि जिमुवामा अध्ययनरत विद्यार्थी अञ्जली कार्कीले पारिवारिक गरिबीका कारण साइकल नहुँदा आफू २ घण्टा हिँडेर विद्यालय पुग्नु पर्ने बाध्यतालाई तोड्दै अब आधा घण्टामै विद्यालय आवागमन गर्न सकिने र बचेको समयलाई पढाइमा सदुपयोग गर्ने बताउनु भयो । त्यस्तै, महेन्द्रनगर (साधारण) माविमा अध्ययनरत विद्यार्थी आशिका जोशीले साइकल नहुँदा विद्यालय आवागमन गर्न निक्कै कठिनाइ सहनु परेको, अधिकांश दिनहरूमा साथीहरूको सहयोग माग्ने गरेको र कहिलेकाहीँ त विद्यालय समेत छुट्ने गरेको अनुभव सुनाउँदै अब भने ती सबै समस्या समाधान हुने धारणा राख्नुभयो ।