हरिश्चन्द्र बाग, कञ्चनपुर, २० फागुन । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कञ्चनपुरको गड्डाचौकी र त्रिनगरमा रहेका हेल्थ डेस्क दक्षिण एसियाकै सर्वोत्कृष्ट रहेको दाबी गर्नु भएको छ । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले भारतसँग सीमा जोडिएको सुदूरपश्चिमका दुई ठूला नाकाहरूमा रहेका हेल्थ डेस्कहरू उत्कृष्ट ठहरिएको बताउनु भयो । नेपाल भित्रिने नागरिकहरूलाई सीमा नाकामै खोप सेवा दिने लगायतका व्यवस्थापनमा ती हेल्थ डेस्कहरूको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । मन्त्री खड्काले कञ्चनपुरमा ८५ प्रतिशत र कैलालीमा ७२ प्रतिशत लक्षित उमेर समूहका नागरिकले खोप लगाएको जानकारी दिनुभयो । कोरोना नियन्त्रणकै लागि सबै जिल्लामा खोप अभियानलाई जारी राखेको बताउँदै मन्त्री खड्काले कोरोना विरुद्धको खोप नलगाउनेलाई सरकारी सेवामा रोक लगाउने बारे प्रदेश सरकारले छलफल गरिरहेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोभिड १९ सम्बन्धी कञ्चनपुर जिल्लाको अवस्था बारे प्रकाश पार्नुभएको थियो । त्यस क्रममा उहाँले कोभिड १९ व्यवस्थापनका लागि आरडिटी, स्वाब सङ्कलन तथा परीक्षणको व्यवस्था, आरडिटी, भिटिएम, पिपिई, मेडिसिन लगायतको आपूर्ति व्यवस्थापन, हेल्थ डेस्क व्यवस्थापन, आइसोलेसन निर्माण तथा व्यवस्थापन, सङ्क्रमितको खोज पडताल, एम्बुलेन्सको व्यवस्था, बिरामीहरूको व्यवस्थापन, मृतकको शव व्यवस्थापन र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरिएको बताउनु भयो । त्यस्तै उहाँले बिरामीहरूको सहज उपचारका लागि अस्पतालहरूको क्षमता वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन, अत्यावश्यक औषधी, अक्सिजन तथा अन्य सामग्रीहरूको निरन्तर आपूर्ति, पोष्ट कोभिड उपचार तथा परामर्श सेवा, फिभर क्लिनिक निरन्तरता र अत्याधुनिक सुविधा सम्पन्न कोरोना अस्पताल निर्माण लगायतका कुराहरूमा विशेष जोड दिनुभयो । त्यसै गरी पालिका स्तरमा संस्थागत आइसोलेसन र व्यवस्थापन, जनशक्ति व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवाको निरन्तरता, एम्बुलेन्स सेवा व्यवस्थापन, जोखिम भत्ता, समन्वय र सहकार्य, जनस्वास्थ्य निरीक्षक निर्देशिका यथाशक्य छिटो कार्यान्वयन र प्रभावकारी रेकर्डिङ र रिपोर्टिङको उचित व्यवस्थापन हुनुपर्ने बताउनु भयो ।
बिरामीहरूको खोज पडताल, ज्येष्ठ नागरिक तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन तथा आइसोलेसन सञ्चालन र व्यवस्थापन, सीमा नाका व्यवस्थापन र जनशक्ति व्यवस्थापनमा समस्या र चुनौती रहेको उहाँले औँल्याउनु भयो । त्यसका बाबजुद पनि नियमित स्वास्थ्य सेवा सुविधालाई निरन्तरता दिने, माघ १ गतेदेखि जारी रहेको बुस्टर डोज खोप सेवालाई निरन्तरता दिने, यही फागुन २७ गतेदेखि फाइजर खोप सम्बन्धी तालिम सञ्चालन गर्ने र चैत्र महिनाको पहिलो हप्तादेखि ५ वर्षदेखि १२ वर्ष उमेरसम्मका बालबालिकाहरूलाई फाइजर खोप सेवा दिने योजनामा स्वास्थ्य कार्यालय कञ्चनपुर रहेको छ । यही फागुन १८ गतेसम्म कञ्चनपुर जिल्लामा ६८ हजार ५ सय ३५ जनालाई कोभिशिल्ड खोप, ३ लाख ६७ हजार ७ सय ४९ जनालाई भेरोसेल खोप, ४२ हजार ८ सय १ जनालाई एस्ट्राजेनिका खोप, ६८ हजार २५ जनालाई जोन्सन एण्ड जोन्सन खोप र १२ देखि १८ वर्ष उमेर समूहका गरी १ लाख ३४ हजार ३ सय ५६ जनालाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सार्वजनिक गर्नुभएको तथ्याङ्कमा उल्लेख छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशीले पत्रकारहरूको निःशुल्क बिमाको (स्वास्थ्य बिमा भए पनि) व्यवस्था गर्न आवश्यक पहल गरिदिन मन्त्री खड्कासँग अनुरोध गर्नुभयो । त्यस्तै उहाँले विगतमा जस्तै जिम्मेवारी बोध गरी निरन्तर जनजागरणका कार्यमा लाग्न पत्रकारहरूलाई अनुरोध गर्नुभयो । उक्त कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव राम सिंह ठगुन्नाले गर्नु भएको थियो भने उपाध्यक्ष योगेन्द्र बलायरले स्वागत मन्तव्य राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रमको व्यवस्थापन नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले गरेको हो । कार्यक्रममा कोभिड १९ सम्बन्धी वस्तुगत स्थिति, समस्या, चुनौती, सम्भावना र व्यवस्थापनका लागि पत्रकारहरूका सुझाव, प्रतिक्रिया, अपेक्षा र गुनासो समेत समेटिएको थियो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा कञ्चनपुर सहित सुदूरपश्चिमका ९ वटै जिल्लाहरूमा अन्तरक्रिया कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले जानकारी दिनुभयो ।