हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ इमलिया स्थित नदी तटीय क्षेत्रमा जीविकोपार्जन सुधारका लागि उखु खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वसन्तकालीन उखु खेती सुरु गरिएको छ । बेलडाँडी गाउँपालिका कार्यालय, महाकाली सुगर मिल, अक्सफाम, एक्ट र निड्स नेपालको समन्वयमा तीन तिरबाट नदीले कटानी गरिरहेको ३ बिघा जमिनमा उखु खेती प्रवर्द्धन कार्यक्रम मार्फत उखु खेती गर्न सुरु गरिएको निड्स नेपालका कोषाध्यक्ष रवीन्द्र देवकोटाले जानकारी दिनुभयो । उक्त क्षेत्रका विपन्न किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि उक्त जमिन भाडामा लिएर उखु खेती गर्न लागिएको देवकोटाले बताउनु भएको छ ।
निड्स नेपालको स्कोप आर थ्री परियोजना अन्तर्गत कञ्चनपुर जिल्लाका विभिन्न नदी तटीय क्षेत्रमा बगर खेतीका रूपमा उखु खेतीलाई प्रवर्द्धन गरिरहेको संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ । उहाँका अनुसार परियोजना कार्य क्षेत्रमा भइरहेको नदी कटानी रोकथाम र नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूसँगको समन्वय र सहकार्यमा कार्यक्रम लागु भइरहेको छ । बाढी प्रभावित समुदायहरूमा बाढीको जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि उखु खेतीलाई प्रवर्द्धन गरिएको हो । जसको परिणाम स्वरूप नदिले कटानी तथा पटानी गरिहरेको बगर तथा नदी किनारामा उखु खेती मार्फत बाढी नियन्त्रणमा मद्दत पुग्ने छ भने उखुबाट समुदायको आम्दानी समेत बढ्ने छ । परियोजनाले संकटासन्न समुदायहरूमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि विभिन्न सरोकारवाला (सरकारी, गैरसरकारी, निजी र नागरिक समाज) सँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापहरू गर्दै आइरहेको छ ।
यसै गरी परियोजनाले विपद् पूर्व तयारीका लागि समुदायमा विपद् बारे जागरण गराउने, क्षमतामूलक तालिम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने र समुदायको जोखिमको पहिचान गरी कार्य योजना निर्माण गरी समुदायलाई विपद् उत्थानशील समुदाय निर्माणमा सहयोग गरिरहेको छ । परियोजनासँगको आर्थिक र प्राविधिक समन्वय र सहकार्यबाट जोखिमयुक्त क्षेत्रका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सकिनेमा विश्वस्त रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताउनु भयो । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले परियोजनाबाट एकातर्फ प्रयोग विहीन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनमा टेवा पुग्ने र अर्कोतिर बाढीको जोखिमलाई न्यूनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन समेत मद्दत पुग्ने धारणा राख्नुभयो ।
त्यस्तै, बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष कमला ओखेडाले नदी तटीय क्षेत्रका नागरिकहरूको जमिन संरक्षण र जीविकोपार्जनमा परियोजना कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नु भयो । महाकाली सुगर मिलले यहाँका किसानहरूलाई उन्नत जातको बिउमा अनुदान, दुई आँख्ले बिउको प्रयोग, बिउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गरिरहेको महाकाली सुगर ईण्डस्ट्रिज प्रा.लि.का सि. उखु प्रबन्धक सि.डी. पाण्डेले बताउनु भयो । यसका अतिरिक्त मिलले प्राविधिक सहयोग र विषादीमा पनि सहयोग गरिरहेको उहाँको दाबी छ । तीन तिरबाट नदीले घेरिएकोले खेतसम्म पुग्न नदीमा पुल निर्माण गरिदिन र विद्युत् जडानका लागि किसानहरूले गाउँपालिकासँग अनुरोध गर्नुभएको छ । नदीले कटानी गरिरहेको र उत्तरतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र भएको हुँदा जङ्गली जनावरहरूले खेती नोक्सानी गर्ने गरेको किसानहरूको गुनासो छ ।