हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको बेलौरीमा महाशिवरात्री पर्वको उपलक्ष्यमा शिवनगर सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर १० को वडा कार्यालय, सिद्धेश्वर जय पृथ्वी क्लब र सिद्धेश्वर शिव मन्दिरको संयुक्त आयोजनामा शिवनगरस्थित सिद्धेश्वर शिव मन्दिरको प्राङ्गणमा सांस्कृतिक महोत्सव सञ्चालन गरिएको हो । सोमबारदेखि सुरु गरिएको सांस्कृतिक महोत्सव मंगलबारसम्म जारी रहने छ । सांस्कृतिक महोत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि तथा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान गरी प्रवर्द्धन गर्न सबैको सहयोग अनिवार्य रहेको धारणा राख्नुभयो । बेलौरी नगरपालिकाले समेत विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको स्तर वृद्धिका लागि कार्य गरेको उहाँको भनाइ छ । बहु जाती बहु भाषी नागरिकहरूको बसोबास रहेको बेलौरीमा भाषा, संस्कृति, रीतिरिवाज, चालचलन संरक्षणमा सबै समुदायको महत्त्वपूर्ण भूमिका रहेको नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो ।
महोत्सव उद्घाटन समारोहका सभापति राजेन्द्र प्रसाद जोशीले सिद्धेश्वर शिव मन्दिरमा तीनै तहका सरकार र विभिन्न सहयोगी निकायले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा डिपिआर बनाएर थप भौतिक संरचना निर्माण र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । सांस्कृतिक महोत्सवका विशिष्ट अतिथिद्वय बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार रानाले संस्कृति संरक्षणमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो । महोत्सवमा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी (अछामी बड्डो), लक्ष्मण अधिकारी (दुबईको लाहु¥या), मनीराम चौधरी, राजेश कुस्मी, सङ्गीता शाही, नितु चौधरी, चेत बहादुर शाह सहित स्थानीय कलाकारहरूको समेत सांस्कृतिक प्रस्तुति रहेको आयोजकले जनाएको छ । महोत्सवमा उद्घोषकको भूमिका हरिश पन्त र दीपक शाहीले निर्वाह गर्नुभएको छ ।
यसअघि यही फागुन १४ गतेका दिन शिवनगरमा लागु औषध तथा दुर्व्यसनी रोकथाममा जोड दिँदै हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरिएको थियो । ‘लागु औषध ओसारपसार तथा दुर्व्यसनी निर्मुलीकरण गरौँ, हरेक भान्सा घरलाई औषधालयमा परिणत गरौँ’ भन्ने मूल नाराका साथ शनिबार हाफ म्याराथन प्रतियोगिता गरिएको सिद्धेश्वर जय पृथ्वी क्लबका अध्यक्ष पदम शाहले बताउनु भयो । उक्त प्रतियोगितामा करिब १२ किलोमिटरको दुरी पुरुष तर्फ बेलडाँडीका केशव धामीले ३७ मिनेटमा पूरा गरी प्रथम र ३९ मिनेटमा पूरा गरी शिवनगरका हिमाल सिंह द्वितीय हुनु भएको छ । त्यस्तै महिला तर्फ ५७ मिनेटमा दुरी पार गरी भुडाकी करुणा चौधरी प्रथम र १ घण्टा ३ मिनेटमा दुरी पार गरी बेलडाँडीकी सुशीला चौधरी द्वितीय हुनु भएको आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथम हुने पुरुष र महिलालाई नगद रु. ५ हजार ५ सय र द्वितीय हुने पुरुष र महिलालाई नगद रु. ३ हजार ३ सय सहित प्रमाणपत्र शिवनगर सांस्कृतिक महोत्सवमा वितरण गरिने जनाइएको छ ।