धनबहादुर बिक, कञ्चनपुर, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पुनर्वास नगर कमिटी वडा नम्बर ६ को वडा भेला शनिवार भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टीलाई मजबुत बनाउनका निमित्त तीव्रताका साथ कमिटी विस्तारमा लागेको बताइएको छ । उक्त भेलाले पुनर्वासमा निर्वाचन लक्षित आम सभाको झलक देखाएको छ । यसअघि २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा घामपानी नभनी पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन सफल भए पनि अधिकांश नेताहरूले अवसरवादीको रूप धारण गरेकोले आगामी निर्वाचनमा उनीहरू विरुद्ध कडा सङ्घर्ष गर्ने र पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन केन्द्रित हुने भेलाले निष्कर्ष निकालेको छ ।
भेलाले विभिन्न जन वर्गीय सङ्गठन हरू निर्माण समेत गरेको छ । उक्त भेलाले नवीन अधिकारीको संयोजकत्वमा ३५ सदस्यीय युवा कमिटी गठन गरेको छ भने देवी भट्टको संयोजकत्वमा २९ सदस्यीय अखिल नेपाल महिला सङ्घ गठन गरेको छ । त्यसै गरी पूर्णिमा विकको संयोजकत्वमा २२ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाज कमिटी गठन गरेको छ । नेकपा एमालेको लाल किल्लाका रूपमा परिचित पुनर्वास नगरपालिका वडा नम्बर ६ मा आयोजित भेलालाई नेकपा एमाले केन्द्रीय सदस्य इन्दु कडरिया बिष्टले सम्बोधन गरेकी थिइन् । वडा नम्बर ६ नेकपा एमालेको लाल किल्ला रहेको दाबी गर्दै एमालेको किल्लालाई कसैले पनि भत्काउन नसक्ने बिष्टको भनाइ छ । राष्ट्रिय सभा सदस्य समेत रहेकी बिष्टले भेलालाई सम्बोधन गर्दै मुलुकमा राष्ट्रियताको सवाल तथा जनताको पक्षमा काम गर्ने एउटा मात्र पार्टी नेकपा एमाले नै रहेको कुरामा जोड दिएकी छन् ।
मुलुकमा राष्ट्र र राष्ट्रियता जोगाउन, सर्वहारा वर्गको गास, बास र कपासको सुनिश्चितता तथा समृद्धि ल्याउन नेकपा एमाले भन्दा अर्को विकल्प नरहेको नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारीको धारणा छ । “इतिहासको विरासतलाई दोहो¥याए आगामी सबै तहको निर्वाचनमा नेकपा एमालेलाई पूर्ण बहुमतका साथ विजयी गराउन नेकपा एमाले गाउँगाउँ बस्तीबस्तीबाट मोर्चा निर्माणमा जुटेको छ । हिजोको कमीकमजोरीलाई सच्याएर पार्टी अघि बढ्दै छ”, नेता भक्तबहादुर अधिकारीले भनेका छन् । कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सदस्य तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिरबल विश्वकर्माले मुलुकमा जातीय उत्थान, समतामूलक समाज निर्माण गर्ने विषयमा नेकपा एमालेले मात्रै पहल गर्ने गरेको कुरामा जोड दिए ।
नेकपा एमाले कञ्चनपुरका जिल्ला उपसचिव फैरू तामाङले जनताले अमूल्य मत दिएर जिताएका नेताहरूले गरेको व्यवहारलाई मूल्याङ्कन गर्ने बेला आएको बताए । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र प्रदेश सभा सदस्य एवं मन्त्री तारा लामा तामाङलाई लक्षित गर्दै उनले भने “नेकपा एमालेबाट निर्वाचित भएर पार्टी फुटाउने अभियानमा लागेको तथा जनताले तिरेको करको दुरुपयोग गरी आफ्नो क्षेत्रको विकासमा चासो नदिने जस्ता व्यवहार रहेकोले अब जनताले यस्ता अवसरवादी नेताहरूलाई पाखा लगाउनुपर्ने बेला आएको छ ।” करिब ५ सय जनाको उपस्थितिमा वडा भेला सम्पन्न भएको छ भने भेलामा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सोमराज बराल, रामबाबु अधिकारी, रामचन्द्र नेपाल, नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुर सदस्य तथा पुनर्वास नगर कमिटी इन्चार्ज भारमल सुनार, जिल्ला कमिटी सदस्य वीर बहादुर बोगटी, पूर्व जिल्ला कमिटी सदस्य विश्वनाथ बिष्ट, नेता मनबहादुर गुरुङ, राजकुमार रायमाझी, अनेम सङ्घ कञ्चनपुर संयोजक शारदा बिष्ट धामी, अनेरास्ववियु केन्द्रीय सदस्य हेमन्त शर्मा लगायतले पार्टी एकजुट तथा सुदृढीकरण एवं आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टीका रूपमा स्थापित गर्न तर्फ सबैले लाग्नुपर्ने कुरामा जोड दिएका थिए । नेकपा एमाले पुनर्वास नगरपालिका वडा नम्बर ६ का उपसचिव डम्बर दहालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव कृष्ण रेग्मीले गरेका थिए ।