हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेशस्तरीय स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले बताउनु भयो ।
उक्त कार्यलाई विस्तार गरी सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्ला र ८८ वटै स्थानीय तहहरूसम्म पु¥याउने लक्ष्य रहेको मन्त्री खड्काले जानकारी दिनुभयो । स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेश सरकारले चालु वर्षलाई स्वास्थ्य सुधार वर्षका रूपमा अघि बढाएको बताउँदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा धेरै कोणबाट सुधार भइरहेको उल्लेख गर्नुभयो ।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र हाललाई स्वास्थ्य कार्यालय कञ्चनपुरमै स्थापना गरिएको भए पनि निकट भविष्यमा छुट्टै कार्यालय स्थापना गरिने प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख हेमराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय स्थापनाका लागि भीमदत्त नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको नीति र दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले अवलम्बन गरेको नीति र योजना तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतका कानुनी प्रावधान बमोजिम पहिलो पटक प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । घरघरमा रोग र औषधीले छुनु पूर्व गर्नु पर्ने पूर्व सावधानी र अभ्यासलाई प्रयोगमा ल्याई आम जनजीवनमा सकारात्मक प्रभाव पार्ने कार्यलाई स्वास्थ्य प्रवर्द्धन केन्द्रले प्रोत्साहन गर्ने बताइएको छ ।
तीनै तहका सरकार र सरोकारवाला निकायको स्वास्थ्य शिक्षा सम्बन्धी नीति निर्माण, कार्यान्वयन र प्रवर्द्धनका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्रले समन्वयकारी भूमिका निर्वाह गर्ने छ । त्यस्तै, हरेक क्षेत्रलाई स्वास्थ्यसँग जोडेर दूर दराजसम्म स्वास्थ्य शिक्षा अभिवृद्धि गर्ने, गलत अभ्यासलाई त्याग्न प्रेरित गरी जनजनको आचरण सुधार्ने र मनोसामाजिक परामर्श दिई मानव जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने कार्यालय प्रमुख खड्काको भनाइ छ । जसबाट हरेक नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।