कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी सुरु गरिएको नेकपा एमालेको पहिलो चरणको कार्यक्रम सकिएको छ । एमाले कृष्णपुर नगर कमिटीले चुनाव तयारीका लागि माघ अन्तिम सातादेखि कार्यक्रम सुरु गरेको थियो । माघ २६ गते नगर कमिटी बैठकबाट स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी कार्य योजना बनाइएको थियो । कार्ययोजना अनुसार कृष्णपुर नगरपालिका वडा नं. २ बाट कार्यक्रम सुरु भएर मंगलबार वडा नं. ६ मा पहिलो चरणको अन्तिम कार्यक्रम गरिएको छ ।
एमाले कृष्णपुर नगर कमिटीका अध्यक्ष गणेश सिंह ऐरीले कार्ययोजना अनुसार सबै वडामा पहिलो चरणको कार्यक्रम सकिएको बताए । ‘माघ २६ गते नगर कमिटी बैठक बसेर कार्ययोजना बनायौँ, त्यसको ३ दिनपछि माघ २९ गते वडामा कार्यक्रम सुरु गरियो’ उनले भने, ‘सबै वडामा कार्यक्रम सकिएको छ, आज वडा नं. ६ मा अन्तिम कार्यक्रम गरिएको छ ।’ नगर कमिटी बैठकमा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्ट सहभागी भएका थिए । उनले चुनाव केन्द्रित भएर कार्यक्रम गर्न निर्देशन दिएका थिए ।
एमालेको पहिलो चरणको कार्यक्रममा सबै वडामा पार्टी कार्यकर्ता भेटघाट, टोल कमिटीलाई शपथ ग्रहण र स्थानीय निर्वाचन केन्द्रित छलफल गरिएका छन् । ती सबै छलफल र कार्यक्रम मार्फत स्थानीय तह निर्वाचनमा एमालेलाई पहिलो बनाउने गरी तयारी थाल्न नेता कार्यकर्ता सक्रिय पारिएको छ । यस अघि २०७४ का एमालेले कृष्णपुरमा मेयर, उपमेयर सहित तीन वडा अध्यक्ष जितेको थियो । पाँच वर्ष अघिको जितलाई निरन्तरता दिएर थप वडा जित्ने गरी एमालेले तयारी अघि बढाएको हो । ‘यस अघिको जितलाई निरन्तरता दिएर थप बलियो बन्ने लक्ष्य लिएका छौ’ अध्यक्ष ऐरीले भने ।
स्थानीय तह निर्वाचनमा एमालेलाई बलियो बनाउन वडाका टोल र घरघरसम्म एमाले पुगाउने अभियान सञ्चालन गरिएको उनको भनाई छ । ‘स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन टोल टोलमा कमिटीहरूको निर्माण र वडाहरूमा जनसङ्गठनहरूको कमिटी गठनलाई प्राथमिकता दिएका छौ’ उनले भने, ‘पार्टीको नेतृत्वमा सरकार भएको बेलामा भए गरेका कामकारबाही बारेमा जनतालाई सुसूचित गर्ने, सबै विषय जानकारी गराउने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने कार्यमा पनि लागेका छौँ ।’
एमाले नेतृत्वको स्थानीय तहको सरकार र एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गरिएका कामलाई लिएर एमाले जनतासम्म पुगेको छ । कृष्णपुरको सबैभन्दा ठूलो समस्या अव्यवस्थित बसोबासी समाधानका लागि ओली नेतृत्वको सरकारको पालामा कार्य सुरु गरिएको थियो । सुदूरपश्चिममा कृष्णपुरमा सबैभन्दा पहिलो अव्यवस्थित बसोबासीका लागि भूमि आयोगसित सम्झौता गरिएको थियो । एमालेले जनजीविकाका सवाल र स्थानीयका समस्यालाई पनि पार्टीको कार्यक्रममा प्राथमिकता दिएर छलफल अघि बढाएको छ ।
स्थानीयका समस्या र विकास निर्माणका लागि दबाब मूलक कार्यक्रम अघि बढाउन एमाले सक्रिय देखिएको छ । चुनाव तयारीका लागि बस्तीमा पुगेको एमालेमा अन्य दलका नेता पनि कार्यक्रममा आएका छन् । उनीहरू आ-आफ्ना पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ७ र ९ मा अन्य दलका नेता कार्यकर्ता एमाले आएका छन् । कृष्णपुरमा एमाले विभाजनको सबैभन्दा कम असर परेको छ । एमाले छाडेर समाजवादी गएका जनप्रतिनिधिलाई समेत एमालेमा फर्काइएको थियो ।
कृष्णपुरमा एमालेको केन्द्रीय निर्वाचन आयोग सदस्य गोविन्द कलौनी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू जयराज पाण्डेय, शेर बहादुर सिंह र बहादुर चौधरी, एमाले कञ्चनपुरका उपाध्यक्ष लक्ष्मी बुढा, एमाले कञ्चनपुरका पूर्व जिल्ला कमिटी सदस्य मोहन रावल, जिल्ला कमिटी सदस्यहरू छत्र बहादुर महरा, राज बहादुर खड्का, लक्ष्मण कार्की, लोकेन्द्र बिष्ट, रमिता राना, दिलसरा खत्री, विमला थापा बोहरा, तेज बहादुर बिक निवर्तमान जिल्ला कमिटी सदस्य जयनारायण जोशी लगायत नेताहरू सहभागी भएका छन् ।
कृष्णपुर एमालेको इन्चार्जमा लोकराज पन्त र अध्यक्ष ऐरी छन् । उनीहरू दुवै जना एमालेको विद्यार्थी राजनीतिबाट आएका हुन् । एमाले नगर अध्यक्ष ऐरीले पहिलो चरणको कार्यक्रम वडा केन्द्रित भई सञ्चालन गरिएको र सँगसँगै वडाहरूमा भएका भेला मार्फत दोस्रो चरणको कार्यक्रम सुरु भएको बताए । त्यसमा वडामा टोल कमिटी भेला, गठन, पुनः गठन र जन सङ्गठनका वडा कमिटी गठन गरिने छन् । त्यस लगत्तै जनसङ्गठनका नगर अधिवेशन गरी नगर कमिटी गठन लगायतका कार्यक्रम गर्ने तयारी रहेको नेकपा एमाले कृष्णपुर नगर कमिटीले जनाएको छ ।