हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारदेखि पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । ‘पर्यटन, प्रवर्द्धन र विकास; दिगो समृद्धिको आधार’ भन्ने नारासहित सुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म जारी रहने छ । भीमदत्त नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको समन्वय र सहकार्य तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कञ्चनपुर उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ कञ्चनपुर, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पत्रकार महासंघ कञ्चनपुरको सहयोगमा महोत्सव सञ्चालन गरिएको हो ।
कोरोना भाइरसको महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख एवं नगर पर्यटन विकास समितिका अध्यक्ष सुरेन्द्र बिष्टले बताउनुभयो । पर्यटन प्रवर्द्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उहाँको भनाइ छ । पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुभयो । उहाँले जैविक विविधता संरक्षणसँगै देशका अन्य पर्यटकीय तथा धार्मिक क्षेत्रहरूसँग शुक्लाफाँटालाई जोड्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने बताउनुभयो ।
सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सहजै देख्न सकिन्छ । यसका अतिरिक्त निकुञ्जमा ठूलो घाँसे मैदानसँगै पाटे बाघ, चितुवा, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरू समेत पाइन्छन् । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज नजिकै रहेका बासिन्दाको आफ्नै खालको संस्कृति, परम्परा र चालचलन रहेको छ । पर्यटन महोत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।