हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले आफ्नो आठौँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ । बेलौरी उद्योग वाणिज्य संघको सभा हलमा शनिबार आयोजित आठौँ नगर सभा तथा हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख एवं उक्त सभाका अध्यक्ष पोतिलाल चौधरीले स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सफल भएको दाबी गर्नुभयो । करिब ५ वर्षे कार्यकालमा बेलौरी नगरपालिका भित्र थुप्रै उपलब्धिमूलक कार्य थालनी गरिएको उहाँको भनाइ छ । बेलौरी नगरपालिका भित्र कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक, आर्थिक एवं जनचेतना अभिवृद्धिका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको नगर प्रमुख चौधरीको दाबी छ ।
आठौँ नगर सभा तथा हिउँदे अधिवेशनमा चालु आर्थिक वर्ष २०७८।७९ को हालसम्मको खर्च विवरण समेत सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा बेलौरी नगरपालिकाको बजेट ६८ करोड ६९ लाख ९९ हजार मध्ये समग्र नगर स्तरीय कार्यक्रमको २९ प्रतिशत, समग्र वडागत कार्यक्रमको १९ प्रतिशत, शिक्षा शाखाको ३६ प्रतिशत, स्वास्थ्य शाखाको ४७ प्रतिशत, कृषि शाखाको २९ प्रतिशत, पशु शाखाको १५ प्रतिशत, महिला विकास शाखाको २५ प्रतिशत, न्यायिक समितिको ४ प्रतिशत र सशर्त, समपूरक, विशेष अनुदानको ३६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८।७९ मा बेलौरी नगरपालिका भित्रका १० वटै वडाहरूमा विनियोजन गरिएको रु. ६ करोड बजेट मध्ये वडा नम्बर १ ले ९ प्रतिशत, २ ले ४ प्रतिशत, ३ ले २० प्रतिशत, ४ ले ४७ प्रतिशत, ५ ले ३६ प्रतिशत, ६ ले ७ प्रतिशत, ७ ले ३१ प्रतिशत, ८ ले २० प्रतिशत, ९ ले ३ प्रतिशत र १० ले १८ प्रतिशत बजेट खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आठौँ नगर सभा तथा हिउँदे अधिवेशनबाट विभिन्न कार्यविधि, विधेयक, कानुन, ऐन एवम् प्रस्तावहरू पारित गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ । उहाँका अनुसार आठौँ नगर सभा तथा हिउँदे अधिवेशनले राजश्व सङ्कलन, कार्यान्वयन, नियमन कार्यविधि २०७८, बेलौरी नगरपालिका पशु स्वास्थ्य कार्यान्वयन कार्यविधि २०७८, पशु विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७८, बेलौरी नगरपालिकामा रहेको भलमन्सा प्रणाली, संरक्षण, प्रवर्द्धन र विकास गर्न बनेको कार्यविधि २०७८, स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि २०७८, जातीय छुवाछुत निगरानी केन्द्र (व्यवस्थापन, सञ्चालन) कार्यविधि २०७८, विपद् व्यवस्थापन तथा हरित कोष (सञ्चालन) कार्यविधि २०७८ र बेलौरी नगरपालिका विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन सिकाइ केन्द्र (सञ्चालन व्यवस्थापन) कार्यविधि २०७८ पारित गरेको छ । त्यस्तै, बेलौरी नगरपालिकाको स्थानीय सेवा, व्यवस्थापन तथा प्रोत्साहन सुविधाका लागि व्यवस्था गर्न बनेको विधेयक २०७८, बेलौरी नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७८ र बेलौरी नगरपालिकाको कार्य भूगोल भित्र रहेका भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न बनेको ऐन २०७८ समेत सोही नगर सभाले पारित गरेको छ ।
नगर सभाले बेलौरी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत बाल विकाश शिक्षिका, लेखापाल र कार्यालय सहयोगीहरूको पारिश्रमिक र निजी शिक्षकहरूको भत्ता सुविधा वृद्धि गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै बाल विकाश शिक्षिकाले १५ हजार ५ सय, लेखापालले १८ हजार ५ सय र कार्यालय सहयोगीले १५ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउने छन् । त्यस्तै निजी शिक्षकहरूको भत्ता सुविधा वृद्धि गरी ३ हजार पुर्याउने निर्णय गरिएको छ । बेलौरी नगरपालिकाको घोषणा भएपछि नगरपालिकाले लिखित दस्ताबेजहरूमा प्रयोग गर्दै आएको श्रीपुर शब्दलाई हटाई बेलौरी राख्ने, नगर विकास समितिको ५० औँ वर्षगाँठको अवसरमा संस्थापक अध्यक्ष स्व. तौला रानाको नामले बेलौरी बजार स्थित पूर्वी दक्षिण क्षेत्रमा रहेको चोकलाई तौला चोक नामांकरण गर्ने र बेलौरी छोटी भन्सार देखि बेलौरी बजार हुँदै मैनाहासम्मको सडकको डिपिआर तयार भई सिमाङ्कन समेत भइसकेकोले हुनाले उक्त योजनालाई नगरको गौरवको योजनामा राख्ने निर्णय समेत गरिएको छ । आठौँ नगर सभाबाट बेलौरी नगरपालिकामा कार्यरत कर्मचारीहरू अमर राना (सहायक स्तर पाँचौँ), धनी राम चौधरी (सहायक स्तर पाँचौँ), मुक्तिलाल पाण्डेय (कार्यालय सहयोगी) र विनीता ओड (कार्यालय सहयोगी) लाई उत्कृष्ट कर्मचारी ठहर गर्दै सम्मान गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुई वटा सुरक्षा निकाय र विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।