हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ माघ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले स्थानीय तहको निर्वाचन सफल पार्न प्रेस चौतारी नेपालमा आबद्ध देशभरका पत्रकारहरूलाई आह्वान गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेकोले निर्वाचन सफल पार्ने अभियानमा लाग्न आह्वान गरेका हुन् । अध्यक्ष बस्नेतले राष्ट्रको हितमा कलम चलाउन र आवाज उठाउन सबै सञ्चारमाध्यमलाई अनुरोध गरे ।
"समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार; प्रेस स्वतन्त्रता व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार" भन्ने नारा सहित सोमबार महेन्द्रनगरमा आयोजित सातौँ जिल्ला अधिवेशनले लक्ष्मण पन्तको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति र प्रतिनिधिहरू चयन गरेको छ । उपाध्यक्षमा होमनाथ योगी, महिला उपाध्यक्षमा लक्ष्मी सेटी र सचिवमा मदन गिरी चयन भएका छन् । यस्तै सहसचिवमा दिनेशराज ओझा, सहसचिव समावेशीमा धनबहादुर विक, कोषाध्यक्षमा धनबहादुर बोहरा छनौट भएका छन् । यसै गरी, सदस्यहरूमा रजनी राना, ओमप्रकाश पाण्डेय, सुरेश भट्ट, केशव भट्ट, कमला भट्ट, ताराकुमारी भट्ट, दिनेश चौधरी, वासुदेव भट्ट र प्रदीप रानालाई चयन गरिएको र बाँकी सदस्यहरू कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।
यसै गरी प्रदेश अधिवेशन प्रतिनिधिमा वासुदेव धामी (विमल), विमल विक, सरोज धामी, हरिश्चन्द्र बाग, रामचन्द्र कुस्मी र यमकला पाण्डेय चयन भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गणेश दत्त भट्ट (जी भट्ट), कोमल निरञ्जन भाट, भवानी भट्ट र धर्मा रोकायालाई चयन गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रसाद जोशी, नेकपा एमालेका केन्द्रीय लेखा समिति सदस्य ईश्वरी प्रसाद खरेल, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा, जिल्ला सचिव पल्लवराज भट्ट, जिल्ला उपसचिव कर्ण बहादुर चन्द, एमाले प्रदेश, जिल्ला र पालिका कमिटीका सदस्यहरू, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधव धामी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर र मिडिया मञ्च नेपालका केन्द्रीय, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको बताइएको छ ।