हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ माघ । निड्स नेपालले कञ्चनपुरका विभिन्न क्षेत्रमा १० लाख भन्दा बढी मूल्यका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर) को सहयोगमा निड्स नेपालले भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
आइतबार सम्बन्धित क्षेत्रमा गई मेडिकल पिपिई, ग्लोब्स, एन्टिजीन कीट, ह्याण्ड स्यानिटाइजर, सर्जिकल मास्क समेत गरी १० लाख ७० हजार ७ सय ३१ रुपैयाँ ५० पैसा मूल्य बराबरका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको निड्स नेपालका कार्यक्रम संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो । उहाँका अनुसार महाकाली प्रादेशिक अस्पतालमा कोभिड तथ्याङ्क व्यवस्थापन तथा टेलिमेडिसिनका लागि निड्स नेपालद्वारा ल्यापटप समेत प्रदान गरिएको छ ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले प्राप्त सहयोगका लागि निड्स नेपाल र एलडब्लुआर प्रति कृतज्ञता ज्ञापन गर्नुभयो । भीमदत्त नगरपालिका र निड्स नेपालबिच भातृ सम्बन्ध कायम रहेको उल्लेख गर्दै उपप्रमुख चन्दले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका कार्यमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनु भयो । उहाँले आगामी दिनमा समेत निरन्तर सहकार्यका लागि प्रतिबद्धता समेत जनाउनु भएको छ ।
त्यस्तै महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले सहयोग प्रदान गर्ने संस्थाहरू प्रति धन्यवाद ज्ञापन गर्नुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले विगत लामो समयदेखि निड्स नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वय गरी स्वास्थ्य कार्यालय सहित स्वास्थ्य संस्थाहरू, स्थानीय तहहरू र सीमा नाकामा स्थापित हेल्थ डेस्कहरूमा थुप्रै सहयोग गरेकोमा सराहना गर्नुभयो । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले पनि प्राप्त सहयोगका लागि निड्स नेपाल र एलडब्लुआर प्रति आभार व्यक्त गर्नुभएको छ ।
पुनर्वासमा निड्स नेपालका प्रतिनिधि रामचन्द्र उपाध्यायले सामग्री हस्तान्तरण गर्नुभएको हो । त्यस्तै भीमदत्त नगरपालिका, महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुरलाई निड्स नेपालका कोषाध्यक्ष रवीन्द्र देवकोटा, कार्यक्रम संयोजक विनोद सिंह कडारा, कार्यक्रम अधिकृत रोशनी धामी समेतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । भीमदत्त नगरपालिकामा सामग्री हस्तान्तरण कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी पनि सहभागी हुनुभएको थियो ।
निड्स नेपालले कोभिड १९ को पहिलो, दोस्रो र तेस्रो लहरमा विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । उहाँका अनुसार एलडब्लुआरको सहयोगमा निड्स नेपालले कञ्चनपुरका भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।