हरिश्चन्द्र बाग, कञ्चनपुर, २० माघ । पछिल्लो केही समययता विभित्र जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन कुराकानी गर्ने कार्यलाई निरन्तरता दिँदै गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार पनि १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन कुराकानी गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली सहित अन्य प्रदेशका समेत गरी १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरी विभिन्न विषयवस्तुमा जानकारी लिनु भएको बताइएको छ ।
जिल्लाको शान्ति सुरक्षा अवस्था, विभिन्न संघसंस्था तथा क्षेत्रबाट भइरहेका गतिविधिहरु, जिल्लामा कोरोना सङ्क्रमणको वर्तमान अवस्था, प्रशासनबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको व्यवस्थापन, चिसो र शित लहरको अवस्था एवं व्यवस्थापन लगायतका विषयमा गृहमन्त्री खाँणले जानकारी लिनु भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताउनु भयो ।
जिल्लामा बसेर गरिरहेका कार्यहरु र जिल्लाका गतिविधिलाई सम्बोधन गरिरहेको अवस्थामा गृहमन्त्री स्वयंले चाँसो दिई टेलिफोन गर्दा आफुहरुलाई कार्य गर्ने वातावरण र प्रोत्साहन मिल्नुका साथै कार्यसम्पादनमा सकारात्मक भूमिका खेल्न निक्कै मद्दत पुगेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।
त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गृहमन्त्रीले टेलिफोन गरेर यसरी जानकारी लिँदा निक्कै खुसी महसुस गर्दै अभिभावकको स्नेह प्राप्त हुने, द्विविधा हट्ने, आत्मबल बढ्ने र उर्जा प्राप्त हुने बताउनु भयो । गृहमन्त्री स्वयंले अभिभावकको कुशल भूमिका निर्वाह गर्दै प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई टेलिफोन गरी कार्यसम्पादन र वर्तमान अवस्थाको बारेमा जानकारी लिनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।