किशोर तामाङ, कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले कञ्चनपुरको पुनर्वासमा अटो रिक्सा चालकसँग सोमबार एक दिने सचेतना कार्यक्रम गरेको छ । पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीको संयुक्त आयोजनामा बेलौरी, पुनर्वास र डोकेबजारमा चल्ने अटो चालकहरूलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले ई-रिक्सा, अटोरिक्सा चालकहरूलाई जम्मा गरेर सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दायाँबायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनीकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउँदा अपनाउनु पर्ने सजकता सम्बन्धी विषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको थियो ।
सो अवसरमा जिल्ला ट्राफिक कार्यालयका प्रहरी इन्चार्ज एवं प्रहरी निरीक्षक केशवराज भट्टले सवारी चालकहरूलाई आफ्नो तर्फबाट कुनै पनि हालतमा सवारी नियमको उलङ्घन नगर्न आग्रह गर्नु भएको थियो । जिल्ला ट्राफिक प्रमुख भट्टले विश्वमा सबैभन्दा बढी मृत्युको कारण नै सडक दुर्घटना रहेको बताउँदै सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्न र कम स्पिडमा चलाउन चालकहरूलाई अनुरोध गर्नुभएको थियो ।
पुनर्वास-बेलौरी सडकमा हाल करिब १ सय ५० तीन पाङ्ग्रे अटो गुड्ने गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिनुभयो । सयौँ अटो चालकहरूको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रममा सवारी चालकहरूले पनि प्रहरीसँग सवारी नियमहरूका बारेमा विभिन्न प्रकारका जिज्ञासाहरू राखेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो । पुनर्वास नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको सभाहलमा भएको प्रशिक्षण कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले गर्नुभएको थियो ।