हरिश्चन्द्र बाग, कञ्चनपुर । हालै सम्पन्न नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले बुधबार पदभार ग्रहण गर्नु भएको छ । पुस २३ गतेदेखि पुस ३० गतेसम्म सञ्चालन भएको नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनले मतदान प्रक्रिया मार्फत अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उप सचिव २ सहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो । नव निर्वाचित कमिटीलाई पार्टी केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले शपथ खुवाउनु भएको थियो । शपथ ग्रहणपछि जिल्ला कमिटीको प्रथम पूर्ण बैठक जिल्ला कमिटीका अध्यक्ष सुरेन्द्र बिष्टको अध्यक्षता र प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यमा यही पुस ३० गते सम्पन्न भएको बताइएको छ ।
सो बैठकमा पार्टी पोलिटब्यूरो सदस्य एवं प्रदेश सह इन्चार्ज राजेन्द्र सिंह रावल, पार्टी पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज निरु पाल, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्जहरू नर बहादुर धामी, इन्दु कडरिया (बिष्ट), कृपाराम राना, कमला बोहरा, केन्द्रीय सदस्य लिलाधर भट्ट, प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू भक्त बहादुर अधिकारी र हिरा सार्की, अनुशासन आयोगका पूर्व उपाध्यक्ष भोजराज जोशी, निर्वाचन आयोगका पूर्व उपाध्यक्ष गोविन्द प्रसाद कलौनी र प्रदेश कमिटी सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । बैठकले अधिवेशन उद्घाटन गर्नु हुने पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रति हार्दिक आभार व्यक्त गर्दै अधिवेशनको उद्घाटन सत्रमा उपस्थित सम्पूर्ण अतिथिहरू, अधिवेशन बन्द सत्रको नेतृत्व गर्दै अधिवेशन सम्पन्न गर्नू हुने अध्यक्ष मण्डलका अध्यक्ष एवं सदस्यहरू, निर्वाचन कमिटी, प्रतिनिधि तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।
यसै गरी अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकहरू, अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने होटेल व्यवसायी, यातायात व्यवसायी लगायतका उद्योगी–व्यापारी, पत्रकार, नागरिक समाज, बौद्धिक वर्ग लगायत आम जनसमुदायलाई धन्यवाद दिने निर्णय गरेको छ । यसै गरी बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडी बढाउँदै पार्टी केन्द्रको निर्णय अनुसार पार्टी प्रवेश तथा घर फर्क अभियानलाई अगाडी बढाउने निर्णय गरेको नव निर्वाचित जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट र सचिव पल्लवराज भट्टद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकको निर्णय अनुसार बुधबार जिल्ला कमिटीका पदाधिकारीहरूको पदस्थापन कार्यक्रम जिल्ला इन्चार्ज, सह इन्चार्ज लगायतका नेताहरूको समुपस्थितमा सम्पन्न भएको बताइएको छ । सन्निकट आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरी नव निर्वाचित कमिटीले पार्टी कामलाई घनिभूत रूपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता समेत जाहेर गरेको छ । पार्टीलाई एकताबद्ध बनाउँदै करोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणसँग सजगता अपनाई पार्टी काममा लाग्न सम्पूर्ण मातहत पार्टी पङ्क्तिलाई निर्देशन गरिएको सचिव पल्लव राज भट्टले बताउनु भयो । आठौँ जिल्ला अधिवेशन पारित गरेका १३ बुँदे प्रस्तावहरू समेत बुधबार सार्वजनिक गरिएको छ ।
आठौँ जिल्ला अधिवेशनबाट पारित प्रस्तावहरू (जस्ताको त्यस्तै) ः
१) पार्टीका संस्थापक महासचिव क.पुष्पलाल, जननेता क.मदन भण्डारी, प्रथम जन निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री क.मनमोहन अधिकारी, कुशल संगठक क.जीवराज आश्रित, क.तुलसीलाल, क.निर्मल लामा, क.साहना प्रधान लगायत कम्युनिष्ट आन्दोलनका समस्त अग्रजहरूप्रति सम्मान प्रकट गर्दछ । देश र जनताको हितका लागि शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलनहरूमा सहभागी भई आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै ज्ञात–अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
२) यो अधिवेशन विश्वव्यापी महामारीका रूपमा फैलिएको करोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिरहेकोले नागरिकहरूलाई बचाउनका लागि सबैलाई अनिवार्य खोपको व्यवस्थापन गर्न र रोकथाम र नियन्त्रणको प्रभावकारी योजना ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
३) यो अधिवेशन २०७८ श्रावण १५ गतेका दिन दार्चुला जिल्लाबाट भारत तर्फ तुइन चढेर जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलद्वारा तुइन काटी महाकाली नदिमा बेपत्ता हुनु भएका जय सिंह धामीको घटनाबारे हाल सम्म पनि यो सरकारले भारतीय पक्षसँग दोषीमाथि कारबाही र क्षतिपूर्ति बारे कुनै ठोस प्रस्ताव अगाडी नबढाएको प्रति दुःख व्यक्त गर्दै सो घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई आवश्यक कारबाही र क्षति पूर्तिका लागि तत्काल पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
४) यो अधिवेशन कालापानी लिपुलेक क्षेत्रमा सडक निर्माण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क.अध्यक्ष क.केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालको नक्सा भित्र समेट्दै संविधान संशोधन गरी निसाना छापमा समेत समेटिएको हाम्रो भूभागबाट भारतीय अतिक्रमण हटाउन तत्काल कूटनीतिक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
५) यो अधिवेशन नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले तयार गरेको स्ट्रीप नक्सा अनुसार कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा जनताको जग्गा धनी पुर्जा सहितको भोग चलनमा रहेको जमिन, ऐलानी, प्रति, ताल तलैया र बन क्षेत्र समेतको ठुलो हिस्सा भारत तिर पर्ने गरी नक्शाङ्कन गरिएकोले उक्त स्ट्रीप नक्सा तत्काल पुनरावलोकन गरी सही सिमाङ्कन गर्दै सीमा समस्या समाधानको लागि अविलम्ब पहल गर्न सरकार सँग जोडदार माग गर्दछ ।
६) यो अधिवेशन निर्माणाधीन हुलाकी सडकको बेलौरीको पचूई क्षेत्रमा भारतीय पक्षबाट गरिएको अवरोध हटाउँदै तत्काल निर्माण कार्य सम्पन्न गर्न, बाँकी रहेको बेलौरी कलुवापुर सडक खण्डको काम यथाशीघ्र सम्पन्न गर्न र लामो समयदेखि अलपत्र रहेका पुलहरूको काममा निर्माण कम्पनीहरूले गरिरहेको ढिलासुस्ती र उदासीनता प्रति आपत्ति प्रकट गर्दै यथाशीघ्र काम सम्पन्न गराउन सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।
७) यो अधिवेशन यस जिल्लाका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासी र आरक्ष पीडितको समस्या समाधानका लागि नेकपा (एमाले) नेतृत्वको सरकारले सुरु गरेका काम वर्तमान गठबन्धन सरकारले बन्द गरेकोले तत्काल काम अगाडि बढाउन सरकार समक्ष जोडदार माग गर्दछ ।
८) यो अधिवेशन बेलौरी भन्सार नाकाको स्थापना, औद्योगिक ग्राम योजनाको यथाशीघ्र कार्यान्वयन, पुनर्वासमा कृषि क्याम्पसको स्थापना, पर्यटकीय गन्तव्यहरूको प्रवर्धन लगायतका दूरगामी महत्त्वका योजनाहरू यथाशीघ्र अगाडी बढाउन सरकार समक्ष जोडदार माग गर्दछ ।
९) यो अधिवेशन ओली सरकारका बेला अगाडि बढाइएका यस जिल्लाका राष्ट्रिय महत्त्वका योजनाहरू दोधारा चाँदनीको सिचाइका लागि नहर, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र, दैजी जोगबुढा सडक, मझगाँउ एयरपोर्ट लगायतका योजनाहरू समयमै सम्पन्न हुने गरी काम गर्न गराउन सरकार समक्ष जोडदार माग गर्दछ ।
१०) यो अधिवेशन कञ्चनपुर जिल्लामा केही समय अगाडी भएको भीषण वर्षा पछि भएका बाढी पीडितहरूलाई राहत क्षतिपूर्ति तत्काल दिने भन्दै वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा हेलिकोप्टरबाट भ्रमण गरे पनि हाल सम्म सरकारबाट कुनै राहत, क्षतिपूर्ति तथा व्यवस्थापनको कार्य नभएकोले तत्काल बाढी पीडितहरूको समस्या समाधान गर्न र वर्षा याममा हुने बाढी तथा कटानको समस्यालाई मध्यनजर गरी जिल्ला भित्रका महाकाली, दोदा लगायतका नदि तथा खोलानालाहरूको गुरु योजना सहित पक्की तटबन्ध निर्माण गरी समस्याको दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न सरकार सँग जोडदार माग गर्दछ ।
११) यो अधिवेशन बाढीबाट तहस नहस भएको महाकाली किनारको भाइरल रोडको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै निर्माणमा कैफियत देखिए कारबाही सहित तत्काल पुनर्निर्माणका लागि सरोकारवाला निकाय सँग जोडदार माग गर्दछ ।
१२) यो अधिवेशन वर्तमान गठबन्धन सरकारले गरेको पूरक बजेटको नाममा स्थानीय तहको बजेट कटौती गरी स्थानीय तहलाई कमजोर बनाउने कार्य प्रति खेद प्रकट गर्दै स्थानीय तहका लागि बजेट भाषण मार्फत तय गरिए अनुसारको बजेट उपलब्ध गराउन सरकार समक्ष जोडदार माग गर्दछ ।
१३) यो अधिवेशनलाई अनलाइन प्रविधिबाट उद्घाटन गर्नु हुने पार्टीका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओली प्रति र्हािर्दक आभार व्यक्त गर्दै अधिवेशनको उद्घाटन सत्रमा उपस्थित सम्पूर्ण अतिथिहरू, अधिवेशन बन्द सत्रको नेतृत्व गर्दै अधिवेशन सम्पन्न गर्नू हुने अध्यक्ष मण्डलका अध्यक्ष एवं सदस्य कमरेडहरू, निर्वाचन कमिटी, प्रति धन्यवाद व्यक्त गर्दछ । साथै अधिवेशन सम्पन्न गर्न विभिन्न उप समितिमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक कमरेडहरू, अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने होटेल व्यवसायी, यातायात व्यवसायी लगायतका उद्योगी–व्यापारी, पत्रकार, नागरिक समाज, बौद्धिक वर्ग लगायत आम जन समुदायलाई समेत यो अधिवेशन धन्यवाद व्यक्त गर्दछ ।