हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ माघ । निड्स नेपालसँग साझेदारी गर्दै बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप प्रवर्द्धन (दक्षता) परियोजनाद्वारा सञ्चालित विभिन्न तालिमहरूको स्थलगत अवलोकन भ्रमण गरिएको छ । कञ्चनपुरको कृष्णपुर स्थित बङ्क तथा कैलालीको धनगढी स्थित भादागाउँ, गौरीगङ्गा स्थित अण्डैया, बडैपुर र गोदावरी स्थित बास्कोटामा मंगलबारका दिन स्थलगत अवलोकन भ्रमण गरिएको हो । कृष्णपुरको बङ्कमा आइपिएम तरकारी खेती र मेसन तालिम, धनगढीको भादागाउँ होम स्टेहरुमा कुक तालिम, गौरीगङ्गाको अण्डैया, बडैपुरमा बिल्डिङ ईलेक्ट्रोनिक र गोदावरीको बास्कोटामा आइपिएम तरकारी खेती तालिमको स्थलगत अवलोकन भ्रमण गरिएको परियोजना संयोजक पुष्पा जोशीले जानकारी दिनुभयो ।
तालिमबाट सिकेका विषयवस्तुलाई अधिकांश प्रशिक्षार्थीहरूले व्यावहारिक जीवनमा परिणत गरेको पाइन्छ । जसबाट उहाँहरूको जीवन स्तरमा समेत निक्कै सुधार भएको स्थलगत अवलोकन भ्रमणका क्रममा देखिएको निड्स नेपालका अध्यक्ष अञ्जु भट्टले सुझाव दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरू तालिम पूर्व पनि सोही व्यवसायमा लागिरहेको भए पनि त्यो समयमा उहाँहरूले परम्परागत शैली नै अपनाएको र तालिमपछि भने आधुनिक र परिमार्जित शैलीको प्रयोगबाट थप सक्रिय भई कार्य गरिरहेको पाइन्छ । जसबाट अझ बढी व्यवस्थित र मनग्य आम्दानी गर्न सफल भएको प्रशिक्षार्थीहरूको भनाइ छ । अहिले सक्रिय रूपमा व्यवसाय गर्नेहरूको आर्थिक अवस्था समेत बलियो बन्दै गएको देखिएको छ ।
स्थलगत अवलोकन भ्रमणका क्रममा अधिकांशले राम्रै गरिरहेको पाइएको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र जोशीको भनाइ छ । यद्यपि उहाँहरूको व्यवसाय प्रवर्द्धनका लागि सरकारी निकायबाट समेत थप योगदान हुन आवश्यक देखिएको जोशीले उल्लेख गर्नुभयो । दक्षता परियोजनाबाट सञ्चालित तालिमले प्रशिक्षार्थीहरूका धेरै चुनौतीहरूलाई त समाधान गरिसकेको पाइन्छ । यद्यपि व्यावसायिक कारोबारमा बेलाबेलामा थुप्रै चुनौती आइपर्छन् । जस्तै, तरकारी खेती गर्नेहरूका निम्ति प्राकृतिक विपद् र बजारीकरणको समस्या चुनौतीका रूपमा देखिन्छ । होम स्टे सञ्चालकहरूका लागि कोभिड १९ का चरणबद्ध महामारीले व्यवसाय बन्द गर्नुपर्ने चुनौती छ । मेसन र बिल्डिङ इलेक्ट्रिसियनहरूले नियमित काम पाउन नसकेको प्रशिक्षार्थीहरूले बताउनु भएको छ ।
लक्षित वर्गलाई व्यावसायिक तालिम प्रदान गरी उहाँहरूको आयआर्जन र जीविकोपार्जनमा सहजता प्रदान गर्ने उद्देश्यले कञ्चनपुर, कैलाली र बझाङ जिल्लामा परियोजनाले कार्यक्रम सञ्चालन गरिरहेको छ । तालिम सञ्चालन भएका प्रत्येक ठाउँमा २० जना प्रशिक्षार्थीहरू सहभागी भएको परियोजनाले जनाएको छ । यद्यपि केही व्यक्तिहरूले तालिम मात्रै लिएको तर व्यवसाय नगरेको देखिएकोले आगामी दिनमा यस्ता तालिम सञ्चालन गर्दा सकभर तालिममा सहभागी हुने जति सबैले सोही व्यवसायलाई पेसाका रूपमा अगाडि बढाउने निधो गर्नु पर्ने परियोजनाका सुपरिवेक्षक मनराज उपाध्यायले बताउनु भयो । तालिममा सहभागी भई व्यावसायिक कारोबार गरिरहेका व्यक्तिहरूलाई माथिल्लो चरणको तालिम दिई थप दक्ष बनाउन सके अझै राम्रो हुने देखिन्छ ।