कञ्चनपुर, २८ पुस । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ दैजीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २५औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती मनाएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै बुधबार संस्थाका अध्यक्ष धर्म सिंह कोर (कुँवर) को सभाध्यक्षता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका नगर उपप्रमुख सुशीला सिंह र तथा सहकारी अभियन्ता नेपाल कृषि सहकारी संघ तथा साना किसान विकास लघु वित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै, अन्य अतिथिहरूमा वडा अध्यक्षहरू, पूर्व गा.वि.स. अध्यक्षहरू, विभिन्न साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरू, अन्य सङ्घ, संस्था, बैङ्क र स्थानीय सहकारी संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरू रहनुभएको थियो ।
संस्थाका अध्यक्ष धर्म सिंह कुँवरले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका मुख्य प्रबन्धक श्री कर्ण बहादुर धामीले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, संस्थाका उपाध्यक्ष देवराज जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष देवराज जोशी र सल्लाहकार समिति सदस्यद्वय राकेश बहादुर चन्द एवं जयराज जोशीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सुदूरपश्चिमको छलिया नाच, राना होली र सखिया नाच समेत प्रस्तुत गरिएको बताइएको छ ।
कार्यक्रममा संस्था स्थापना गर्ने संस्थापक सञ्चालक समिति, पूर्व सञ्चालक समिति, पूर्व लेखा समिति, प्रथम सल्लाहकार समिति, प्रथम अन्तर समूह अध्यक्षहरू, पूर्व गा.वि.स. अध्यक्ष र उपाध्यक्षहरू, स्थानीय तहका नगर प्रमुख, उप–प्रमुख र वडा अध्यक्षहरूलाई सम्मान पत्र तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै, हाल संस्थामा रहेका ज्येष्ठ सेयर सदस्यहरूलाई सम्मान पत्र, दोसल्ला र जनही नगद रु. ५ हजार प्रदान गरिएको बताइएको छ । सोही कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई प्रशंसा पत्र, दोसल्ला र नगद रु. २ हजार २ सय ५० सहित प्रदान गरिएको छ । कार्यक्रमका अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको बताइएको छ ।