किशोर तामाङ, कञ्चनपुर, २३ पुस । कञ्चनपुरको पुनर्वासमा तामाङ समुदायका नयाँ पुस्ताका युवाहरू सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन् । उच्च शिक्षाका लागि जापान पुगेका युवाहरूको समूहले आफ्नो गाउँ ठाउँमा समस्यामा पारेका व्यक्तिहरूका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यक्तिगत सहयोग रकम सङ्कलन गरी गृह क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिका-५ सिमरीमा न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण गरेको छ । भदौ र कार्तिक महिनामा आएको बाढीले प्रभावित भएका सिमरी गाउँका बासिन्दाहरूलाई यो कठ्याङ्ग्रिने जाडोमा केही राहत होस् भन्ने हेतुले उक्त बस्तीका ज्येष्ठ नागरिक, एकल महिला र अशक्त ४० घरपरिवारलाई कम्बल वितरण गरिएको बताइएको छ ।
अध्ययनका लागि जापान पुगेका तामाङ समुदायका युवायुवतीहरू जेम्स बिरु, सरिता तामाङ, समीर लुक्स परिवार, सानुमाया परिवार, शोभा तामाङ, एलिया तामाङ, योहन्ना तामाङ, सारा तामाङ, सुन्तली तामाङ, इन्दिरा तामाङ, गीता तामाङ, फिलिप तामाङ, आशिष् तामाङ र तिलुमाया लगायतको समूहले बाढी ग्रस्त रानाथारू र डगौरा थारू बस्तीमा अत्यधिक बढ्दो चिसोबाट बच्नका लागि न्यानो कम्बल वितरण गरेको जनाइएको छ । कम्बल वितरण गर्दै उनीहरूका अभिभावकहरूले पढ्न गएका छोराछोरीहरूको आफ्नो समस्या हुँदाहुँदै पनि आफ्नो खाजा र खानाको रकम बचत गरी आफ्नो देशका नागरिकहरू प्रति देखाएको सहयोगको भावना र सामाजिक उत्तरदायित्व वहन गरेको देख्दा आफूहरूलाई असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
भिमसेन बाबा मन्दिरको प्राङ्गणमा आयोजित कम्बल वितरण कार्यक्रममा कम्बल पाएपछि बाढी पीडित ज्येष्ठ नागरिक, असक्त, असहाय र एकल महिलाहरू निकै खुसीले भावुक हुँदै सहयोग गर्ने सम्पूर्णलाई ईश्वरले रक्षा र सद्बुद्धि प्रदान गरून् भनी आशिष् दिएका छन् । रानाथारु उत्थान समन्वय मञ्च पुनर्वासका अध्यक्ष धोखे रानाले भने "राज्यमा तीन तहको सरकार छ । चुनाव ताका घरदैलोमा गई ठुलठुला आश्वासन दिई भोट मागेर तिनै तहको सरकारमा पुनर्वासको उपस्थिति छ । तर विडम्बना, भोट पाई जितेर सत्तामा पुगेपछि आफ्नो र आफ्नाको भरण पोषणमा लिप्त छन् । गरिब र दिन दुःखीसँग गरेका वाचा र बाँडेका आश्वासन बिर्सेका छन् । वास्तवमा दीन दुःखी प्रति राज्य उदासीन छ । राज्यको उत्तरदायित्व स्थानीय युवाहरू परदेशमा रहेर पुरा गरी रहेका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारको लागि यो गतिलो झापड हो ।"
विपद् व्यवस्थापन समिति सिमरीका संयोजक तीर्थ रानाले बाढीले तहसनहस गरेको सिमरी गाउँमा अत्यधिक जाडोका कारण समस्यामा परिरहेका ज्येष्ठ नागरिक, एकल महिला, असक्त असहाय नागरिकहरूले न्यानो कम्बल पाउँदा पुरै गाउँ खुसी भएको बताएका छन् । सिमरी गाउँका भलमन्सा राधेश्याम रानाले तीनै तहको सरकार मौनता साँधिरहेको बेला स्थानीय छिमेकी गाउँका युवाहरू जो अध्ययनका लागि विदेशमा गएका छन्, तिनीहरूले आफ्नो खाजा र खाना खर्च बचाएर सिमरी गाउँका पीडित समुदायमा देखाएको मायाको उच्च कदर गर्दै सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् । उक्त कार्यक्रममा सिमरी क्षेत्रका बुद्धिजीवी, समाजसेवी, भद्र भलादमी, जापनिज तामाङ युवा सञ्जालका अभिभावकहरू र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।