कञ्चनपुर, २३ पुस । नेकपा एमाले कञ्चनपुरको ८ औँ जिल्ला अधिवेशन जारी रहेको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका ६१ जिल्लाका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम अनुरूप नेकपा एमाले कञ्चनपुरको ८ औँ जिल्ला अधिवेशन शुक्रबार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सुरु गरिएको हो । जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । त्यसका लागि आकाङ्क्षीहरू अन्तिम कसरतमा जुटिरहनु भएको छ ।
८ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका जिल्ला अध्यक्ष वीर बहादुर थापा ‘पातल’, जिल्ला सचिव एवं भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द आकाङ्क्षी देखिनु भएको छ । पार्टी नेतृत्वले भने सहमतिमै जिल्ला कमिटीको टुङ्गो लगाउन निर्देशन दिएको छ । त्यस्तै, उपाध्यक्ष पदका लागि महिलालाई अगाडि सार्ने करिब करिब पक्का जस्तै भएको छ । यद्यपि उपाध्यक्षमा लक्ष्मी बुढा, चिनी गिरी लगायतको नाम चर्चामा रहेकोले सहमतिबाटै टुङ्गो लगाउने सम्भावना कम देखिन्छ ।
एमाले कञ्चनपुरको सचिवका लागि भने पल्लवराज भट्टले दाबी गर्नु भएको छ । उहाँ अहिले जिल्ला कमिटी उपसचिव रहनु भएको छ । नेता पल्लवराज भट्टले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको र त्यसका लागि पार्टीका नेता कार्यकर्ताहरूसँग सरसल्लाह गर्दा सकारात्मक छलफल भएको बताउनु भयो । पार्टीको विधान र निर्देशन अनुसार आफू जिल्ला कमिटी सचिवमा उम्मेदवारी दिन लागेको नेता भट्टको भनाइ छ ।
२०४७ सालबाट अनेरास्ववियु हुँदै एमाले राजनीतिमा लाग्नु भएका भट्ट निरन्तर पार्टीमा सक्रिय हुनुहुन्छ । एमालेको जनवर्गीय सङ्गठनदेखि तीन कार्यकाल जिल्ला कमिटीका विभिन्न पदमा रहेर काम गरेको अनुभव बटुल्नु भएका नेता भट्ट एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा केन्द्रीय सदस्य समेत मनोनीत हुनु भएको थियो । यद्यपि सर्वोच्च अदालतले दुवै पार्टीलाई पुरानै अवस्थामा व्युत्याई दिएपछि उहाँ पुनः पार्टीको जिल्ला कमिटीमै सक्रिय हुनुभयो । उहाँ केही महिना अघि जिल्ला कमिटी उपसचिवमा मनोनीत हुनुभएको थियो ।
पार्टीको जुनसुकै पदीय जिम्मेवारीमा रहँदा पनि नेता भट्ट निरन्तर पार्टी काममा अहोरात्र खटिने गरेको हुनाले ८ औँ जिल्ला अधिवेशनबाट उहाँलाई जिल्ला कमिटी सचिवमा ल्याउनु पर्ने अधिकांश नेता कार्यकर्ताहरूको चाहना रहेको बुझिन्छ । पार्टीका माथिल्लो कमिटीहरूमा पुग्ने थुप्रै अवसरहरू आए पनि नेता भट्टले लामो समयसम्म राजनीति गर्ने हुँदा पार्टीको विधान र निर्देशन बमोजिम चरणबद्ध रूपमा अगाडि बढ्ने बताउनु भयो । जिल्ला कमिटीको उपसचिवका लागि फैरु तामाङ लगायतका नेताहरूको नाम चर्चामा छ ।