कञ्चनपुर, ३० मंसिर । संघीय संसद, दिगो विकास तथा सुशासन समितिको आयोजनामा कञ्चनपुरमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ | संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु एकै ठाउँमा भेला भएर सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, राष्ट्रिय सभा सदस्यहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लाका विभिन्न कार्यालय प्रमुखहरु, नागरिक समाज र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
समिति सदस्य कमला कुमारी ओलीले कार्यक्रमको उद्देश्य, औचित्य र समेट्न खोजेका विषयवस्तु बारे प्रस्ट पार्नु भयो । समिति सदस्य सरिता प्रसाइले दिगो विकास तथा सुशासन समितिले अहिले देशव्यापी अभियान नै संचालन गरी कञ्चनपुरमा पुगेकाे र भर्खेरै सम्पन्न भएको कर्णाली प्रदेशको भ्रमणमा यस्तै कार्यक्रम जाजरकोट र दैलेखमा समितिले सम्पन्न गरेको उल्लेख गर्दै त्यहाँको अनुभव सुनाउनु भयो । दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न प्रस्तुतिहरु गरिएका थिए ।
ती मध्ये जिल्लाको शान्ति-सुरक्षा र सुशासनको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले प्रस्तुती गर्नुभएको थियो । डिभिजन बन कार्यालयका प्रमुख अजय विक्रम मानन्धरले र शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले जिल्लाको बनको अवस्था, रुखहरुको विवरण, स्थानीय चुनौती, भाबी कार्यदिशा, जिल्लामा जलवायु परिवर्तनको अवस्था, कार्बन उत्सर्जन, बन जंगलले गर्ने वातावरणीय असर र दिगो बिकासकाे लक्ष्य न. १५ को समसामयिक विषयवस्तुमा छलफल केन्द्रित गर्नु भएको थियो । सोही कार्यक्रममा शुक्लाफाँटाको पुस्तकको सभापति तारा देवी भट्टले बिमोचन गर्नुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मणिभद्र न्यौपानेले जिल्लाको समग्र बेरुजुको अवस्थाबारे प्रस्तुती गर्नुभयो | उहाँले बेरुजुका प्रकार, काम गर्ने र खर्च गर्ने तरिकाबारे आएका समस्याबारे चर्चा गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सहितको टोलीले जिल्लामा भएका भ्रष्टाचार, अनियमितता र सुशासनमा अपनाउनु पर्ने बिधिको बारेमा आफ्नो प्रस्तुती गर्नुभयो | भ्रष्टाचार सम्बन्धी जनप्रतिनिधि तथा नागरिक समाज र पत्रकारहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विभिन्न प्रश्नहरु सोध्नुभएको थियो । समिति सदस्य चक्र स्नेहीले महाकाली कोरिडोरको कुरा उठान गर्नुभएको छ ।
सभापति तारादेवी भट्टले तीनवटै तहका सरकारहरुको बिकासको मुद्दामा एक बुझाई नहुन्जेल दिगो विकास सम्भव नहुने र आ-आफ्नै तरिकाले हिड्दा कतै नपुगिने भएकोले समिति अहिले तीनवटै तहको समन्वयमा बढी जोड दिईरहेको बताउनु भयो । उहाँले नेपालले दिगो बिकासका १७ वटै लक्ष्यहरु हासिल गर्न अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको, नेपालको संबिधानमा यी कुराहरु समेटिएको र पन्ध्रौ योजनामा पनि यी कुराहरु समेटिएकाले स्थानीय नीति योजना र बजेटमा दिगो बिकासका १७ वटै लक्ष्हरुलाई कार्यक्रममा समेट्न सबैलाई सुझाव दिनुभयो । कुनैपनि कुराहरु जनता लक्षित हुनुपर्ने र सुशासन बिना दिगो बिकासको परिकल्पना पनि गर्न नसकिने भएकोले जिल्लामा सुशासनलाई प्रमुख मुद्दा बनाउन सुझाव दिनुभएको छ ।