कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारण सभाबाट १५ बुँदे प्रस्तावहरू सर्वसम्मत पारित गरिएको अध्यक्ष कमला रेग्मी जोशीले जानकारी दिनुभयो । पाँचौँ वार्षिक साधारण सभामा प्रमुख अतिथि समेत रहनु भएका बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले उक्त सहकारी संस्थाले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक गुणस्तर मात्र नभई महिला सशक्तीकरणका सन्दर्भमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै प्रशंसा गर्नु भयो । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले बेलडाँडी क्षेत्रको विकासका लागि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको समेत महत्त्वपूर्ण सहयोग रहँदै आएको उल्लेख गर्नुभयो ।

बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेमराज खातीले सहकारी संस्थाको सक्रियता अनुसार गाउँपालिकाले समेत सहयोग र सहकार्य गर्ने बताउनु भयो । त्यस्तै बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले बेलडाँडीका महिलाहरूको सशक्तीकरणमा उक्त सहकारी संस्थाको योगदान बिर्सन नसकिने बताउनु भयो । सुदूरपश्चिम कृषि सहकारी संस्थाका अध्यक्ष धर्मसिंह कुँवरले आर्थिक विकास, समुन्नत समाज र समानताका लागि उद्यमशीलता तर्फ केन्द्रित हुन र आर्थिक गतिविधिमा सक्रियता बढाउन सहकारीका सदस्यहरूलाई अनुरोध गर्नुभयो । यस कार्यमा बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सक्रिय रहेकोमा उहाँले प्रशंसा समेत गर्नुभयो । त्यस्तै बैङ्कका प्रतिनिधि रामजनक चौधरीले कृषि क्षेत्रमा बैङ्कले उपलब्ध गराउँदै आएको सेवा सुविधाका विषयमा अवगत गराउनु भयो ।

साधारण सभामा सहकारीका अध्यक्ष कमला रेग्मी जोशीले सहकारी संस्थाको प्रगति प्रतिवेदन र साधारण सभाका प्रस्तावहरू, सहकारीका प्रबन्धक विमला कुमारी बडवालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक प्रेमा कुमारी बडवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण दिनेश खड्काले गर्नु भएको थियो । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले विविध सामाजिक गतिविधिहरूमा समेत सक्रियता बढाएको छ । गत विगतका वर्षहरू देखि नै सहकारीमा आबद्ध परिवारका सदस्यहरू मध्येबाट कोटा अनुसार छनौट गरी कृषि विषय अध्ययन भिसामा इजरायल पठाउने कार्य गर्दै आएको छ । त्यस्तै, किसानहरूलाई मल खाद बिक्री वितरण, साना सिँचाई, एम्बुलेन्स सेवाका लागि तत्काल सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्दै आएको सहकारी संस्थाकी अध्यक्ष कमला रेग्मी जोशीले बताउनु भयो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि समेत उक्त सहकारीले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेको थियो ।
उक्त सहकारी संस्थाले दुई लाख रुपैयाँसम्म बिना धितो र सात लाख रुपैयाँसम्म धितो राखेर ९ देखि १३.५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्ति र महिलालाई विशेष सहुलियतमा कर्जा प्रवाह गर्दै आएको बताइएको छ । सहकारीले युवा स्वरोजगारमुखी कार्यक्रम, पशुधन तालिम, कृषि उत्पादनमुखी कार्यक्रम, किसानलाई आकर्षित कर्जा, सामूहिक स्वरोजगार कार्यक्रम, समूहको वृद्धि विकास, आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका दलित, आदिवासी, जनजाति, मुक्त कमैया, सीमान्तकृत, अपाङ्गता, कुष्ठरोगबाट प्रभावित नागरिकहरूलाई सहकारीमा आबद्ध गराउने, कृषिको बजारीकरण लगायतका आकर्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त सुत्केरी महिलाका लागि घ्यू खाने खर्च, कुनै सदस्यको मृत्यु भएमा सम्बन्धितको परिवारजनलाई किरिया खर्च समेत दिने गरेको छ ।