हरिश्चन्द्र बाग, कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले कञ्चनपुर जिल्लाका विभिन्न नदि तटीय क्षेत्रमा ३ हजार ६ सय मिटर जैविक तटबन्ध तथा बगरमा उखु, दलहन, घाँस र वृक्षारोपण गरेको छ । कञ्चनपुर जिल्लाको अति संकटासन्नमा रहेका शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा परियोजनाले कार्य गरिरहेको एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार परियोजना कार्य क्षेत्रमा भइरहेको नदी कटानी रोकथाम र नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूसँगको समन्वय र सहकार्यमा जैविक तटबन्ध निर्माणका कार्यहरू गरिरहेको छ । जस अन्तर्गत लालझाडी गाउँपालिकामा १ हजार ८ सय मिटर, कृष्णपुर नगरपालिकामा ५ सय ५० मिटर, शुक्लाफाँटा नगरपालिकामा ७ सय मिटर, पुनर्वास नगरपालिकामा ४ सय मिटर र बेलौरी नगरपालिकामा १ सय ५० मिटर जैविक तटबन्धन गरी कुल ३ हजार ६ सय मिटर जैविक तटबन्धको कार्य सम्पन्न गरिएको छ । त्यस्तै बाढी प्रभावित समुदायहरूमा बाढीको जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि उखु खेती समेत गरिएको छ । जसको परिणाम स्वरूप नदिले कटानी तथा पटानी गरेको बगर तथा नदि किनारामा उखु खेती मार्फत बाढी नियन्त्रणमा मद्दत पुगेको छ भने उखुबाट समुदायको आम्दानी समेत बढेको छ । सरकारी निकायभन्दा बढी सहयोग परियोजनाबाट प्राप्त भएको सितावस्ती सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम परियारको भनाइ छ ।
परियोजनाले संकटासन्न समुदायहरूमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि विभिन्न सरोकारवाला (सरकारी, निजी र नागरिक समाज) सँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापहरू गर्दै आइरहेको छ । यसै गरी परियोजनाले २१ महिने समय अवधिमा विपद् व्यवस्थापन चक्र अनुसार विपद् पूर्व तयारीका लागि समुदायमा विपद् बारे जागरण गराउने, क्षमतामूलक तालिम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने र समुदायको जोखिमको पहिचान गरी कार्ययोजना निर्माण गरी समुदायलाई विपद् उत्थानशील समुदाय निर्माणमा सहयोग गरेको छ । परियोजनासँगको आर्थिक र प्राविधिक समन्वय र सहकार्यबाट जोखिमयुक्त क्षेत्रका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सफल भएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनु भयो ।
लालझाडी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बहादुर रानाले परियोजनाबाट एकातर्फ प्रयोग विहीन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनमा टेवा पुगेको र अर्कोतिर बाढीको जोखिमलाई न्यूनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन समेत मद्दत गरेको धारणा राख्नुभयो । त्यस्तै, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बले रानाले नदि तटीय क्षेत्रका नागरिकहरूको जमिन संरक्षण र जिविकोपार्जनमा परियोजना कोशेढुंगा साबित भएको बताउनु भयो । जैविक तटबन्ध निर्माण कार्यमा स्थानीय साधन श्रोत बाँस, कट्टा र बालुवाको प्रयोग गरी स्थानीय जनशक्ति २ हजार ५ जना परिचालित भएका छन् । जैविक तटबन्ध निर्माणबाट करिब १ सय बिघा जमिन संरक्षित भएको छ । चिनी मिल र कृषि शाखाको समन्वयमा लालझाडी गाउँपालिकामा १ सय २३.३ बिघा, शुक्लाफाँटा नगरपालिकामा ३९.९ बिघा, कृष्णपुर नगरपालिकामा ७.८५ बिघा, बेलौरी नगरपालिकामा ३६.२ बिघा र पुनर्वास नगरपालिकामा १ सय ६४.८ बिघामा उखु खेती गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले जनाएको छ । जसबाट ५ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
परियोजनाको तर्फबाट पुराना किसानहरूलाई खाद मलमा सहयोग गरिएको छ भने नयाँ किसानलाई उन्नत जातको बिउमा ५० प्रतिशत अनुदान, दुई आँख्ले बिउको प्रयोग, बिउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गरिएको छ । यसका अतिरिक्त चिनी मिलले प्राविधिक सहयोग र विषादीमा सहयोग गरेको बताइएको छ । गत आर्थिक वर्षमा समुदायहरूले ६३ हजार ७ सय ७२ क्विन्टल उखु उत्पादन गर्न सफल भएका छन् । जसको बजार मूल्य ३ करोड ३४ लाख ८० हजार ३ सय रहेको छ । यस वर्ष समुदायहरूले १ लाख क्विन्टल उखु बिक्री गर्ने योजना बनाएका छन् । कात्तिके उखु खेतीमा अन्तर बालीका रूपमा मुसुरो र तोरी विक्रीबाट रु. १० लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । चेतना सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव इन्द्र जीत रानाले विगत ८ वर्षदेखि बगर संरक्षण गर्न वृक्षारोपण गर्दै आएको र पछिल्लो समयमा बाँस, तरकारी तथा घाँस खेती समेत बढाएको बताउनु भयो ।
त्यस्तै लालझाडी सामुदायिक विपद् व्यवस्थापन समितिका पूर्व सूचना प्रणाली संयोजक रामचन्द्र रानाले २०७५ साल यता नदि तटीय क्षेत्रमा जैविक तटबन्धन र बगर खेती गर्न थालेपछि नदिले गर्ने कटान तथा पटान रोकिएको र आसपासका बस्तीका नागरिकहरूलाई ठूलो सहयोग पुगेको बताउनु भयो । बाढी प्रभावित नदी तटीय समुदायहरूमा दोहरो लाभका लागि टिस्यु कल्चरको बाँस १ हजार बोटको रोपाई कार्य सम्पन्न गरिएको छ भने थप ४५० बोट रोप्ने योजना रहेको छ । मुख्यमन्त्री नमुना कृषि गाउँ उखु कार्यक्रम अन्तर्गत साना कृषि औजार वितरण, कृषि जेटिए स्वयंसेवक परिचालन, सघन उखु खेती सम्बन्धी तालिम र नमुना प्रदर्शनीमा समेत परियोजनाको सहयोग रहेको छ । चिनी मिल र उखु उत्पादक हकहित संरक्षण समितिसँगको सहकार्यमा सघन उखु खेती सम्बन्धी किसानहरूलाई तालिम, उखु खेती क्षेत्र विस्तारमा पारस्परिक सहयोग, उखु खेती एवं रोग किरा नियन्त्रण बारे चेतनामूलक कार्यक्रम, परियोजनाको पहलमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ वनसमितिमा नयाँ काटा तौलको सुरुवात समेत गरिएको छ ।
कोभिड रोकथाम र नियन्त्रणमा पनि परियोजना सक्रिय ।।
परियोजनाले कोभिड रोकथाम र नियन्त्रणमा पनि कार्य गर्दै आइरहेको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटीबाट परियोजना लक्षित शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाहरूलाई पिफम ६ सय मिटर, कम्बल १ सय ५० थान, टर्च लाइट ९० थान, झूल २ सय २५ थान, प्लास्टिक बाल्टी १ सय ५० थान, मग १ सय ५० थान, डस्टविन ३० थान, स्यानिटाइजर २ सय २५ थान, मास्क ३९ प्याकेट, ग्लोव्स ९ प्याकेट, साबुन १ हजार ५ सय थान र सेनिटरी प्याड ६० प्याकेट हस्तान्तरण गरिएको थियो ।
सार्वजनिक प्याडलयुक्त हात धुने पोइन्ट ६ ठाउँमा र सुरक्षित आवास गृहमा २ वटा हात धुने पोइन्ट जडान समेत गरिएको बताइएको छ । कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुर जिल्लाका ९ (नौ) वटै पालिकाहरूमा स्वास्थ्य सुरक्षा सामग्री र अक्सिजन कन्सन्ट्रेटर वितरण, कोभिड १९ सङ्क्रमितहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, परियोजना लक्षित समुदायहरूमा ८ सय ५ घरधुरीहरूलाई सरसफाइ र स्वास्थ्य सामग्रीहरू वितरण, कोभिड सङ्क्रमितहरूका लागि ३ सय ३८ होम आइसोलेसन किट वितरण तथा १४ वटा प्राथमिक स्वास्थ्य केन्द्र र आइसोलेसन केन्द्रहरूमा स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू वितरण गरिएको थियो ।
पूर्वानुमानमा आधारित कार्यक्रम अन्तर्गत भएका गतिविधिहरू ।।
पूर्वानुमानमा आधारित पूर्व कार्य अन्तर्गत पालिकाहरूसँग समन्वय गर्ने, समुदाय स्तरमा मौसम पूर्वानुमान बारेमा (बाढीको खतरा) सम्बन्धित सबै तहका संकटासन्न समुदाय र घरधुरीसम्म जानकारी र सूचना प्रवाह गर्ने, सम्बन्धित क्षेत्रमा बाढीको सम्भावना बारे समुदायमा आधारित विपद् व्यवस्थापन समितिहरू र कार्यदलहरूलाई तयारी अवस्थामा बस्न सुसूचित गर्ने र स्थानीय खोज तथा उद्धार पूर्व सूचना कार्य दल परिचालन गर्ने कार्य गरिएको थियो ।
परियोजनाबाट छनोट भएका दोदा नदि प्रभावित ३ सय ८० घरधुरीहरू मध्ये ३ सय ७३ घरधुरीहरूलाई पालिकासँगको समन्वयमा कार्ड वितरण गरिएको छ । विपद् पछि गरिने राहत वितरणको कार्यलाई परियोजनाले पूर्वानुमानका आधारमा पूर्व तयारी तथा कार्ड वितरण कार्य गरी नौलो तरिकाले पूर्वतयारीका कार्य गर्दै आएको छ । यस क्रममा यसै वर्ष कात्तिक २ गते परेको अविरल वर्षा र जल तथा मौसम विज्ञानको पूर्वानुमानको आधारमा बाढी प्रभावित हुन सक्ने सबै ३ सय ७३ घरधुरीहरूमा रु. ४ हजार १ सय रकमान्तर पश्चात् सबै घरधुरीहरूले कात्तिक ३ गते देखि बैङ्कबाट रकम झिक्ने कार्य भएको छ ।