कञ्चनपुर, १९ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा गरिएको छ । सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी स्वास्थ्य संस्थामा नै शत प्रतिशत सुत्केरी गराउन सफल बनेको कञ्चनपुरको लालझाडी गाउँपालिका ५ लाई पूर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा गरिएको हो । आइतबार एक भव्य समारोहका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यमा उक्त वडालाई पूर्ण संस्थागत सुरक्षित सुत्केरी वडा घोषणा गरिएको देखतभूली स्वास्थ्य चौकीका इन्चार्ज लीलाकान्त झाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा घरमा सुत्केरी हुने आमाको सङ्ख्यामा वडाभर शून्यता कायम रहेपछि उक्त कार्यक्रम गरिएको वडाध्यक्ष नन्दराज अवस्थीले जानकारी दिनुभयो । घरमै सुत्केरी हुने परम्परालाई निमिट्यान्न पार्दै स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति सबैलाई आकर्षित गरेका कारण मातृ शिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले बताउनु भयो । अन्य वडाहरूको पनि मापदण्ड पूरा गरी छिट्टै गाउँपालिकालाई समेत पूर्ण संस्थागत सुरक्षित सुत्केरी गाउँपालिका घोषणा गरिने लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकको भनाइ छ ।

एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकल अनुसार चार पटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्ने, गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुई पटक लगाएको हुनुपर्ने, सुत्केरी पश्चात् प्रोटोकल अनुसार आमा र बच्चाको जाँच हुनुपर्ने लगायतका सूचक पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी क्षेत्र घोषणा गर्ने मापदण्ड रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनु भएको छ ।

मानव जीवनको सुरक्षाको लागि सबैले सतर्कता अपनाउनु पर्ने र नराम्रा परम्परालाई तोड्दै सुरक्षित जीवनयापनका लागि व्यवहारमा समेत परिवर्तन अति आवश्यक रहेकोले सुदूरपश्चिम प्रदेश सरकार त्यस किसिमका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै अगाडि बढेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले उल्लेख गर्नुभयो । सुत्केरी महिलाले घर गोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने हुन्छ । परम्परागत रूपमा सुत्केरी हुँदा मातृ शिशुको ज्यानमा नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु सुरक्षित र प्रभावकारी हुन्छ ।

लालझाडी गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रम अन्तर्गत देखतभूली स्वास्थ्य चौकी, वडा कार्यालय र आसपासका क्षेत्रहरूमा र्याली लगाई राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा औपचारिक कार्यक्रम गरिएको थियो । उक्त समारोहमा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावल सहित कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, शिक्षक तथा विद्यार्थीहरू, पत्रकार र सर्वसाधारण नागरिकहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, सन्देशमूलक रचना तथा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थाहरूलाई दोसल्ला, फुल माला र सम्मान पत्र प्रदान गरिएको बताइएको छ ।