नेपाली सेनाले दिने राष्ट्रिय सेवा दलको (एन.सि.सि) तालिम बेलौरीमा सुरु भएको छ । बेलौरी नगरपालिका वडा नं ४ मा अवस्थित उग्रतारा बाल विद्यालयमा आइतबार देखि उक्त तालिम प्रारम्भ भएको हो । तालिममा विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सहभागिता रहेको छ । विद्यालयमा आयोजित पहिलो दिनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगर पालिका शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक देव बहादुर चन्द हुनुन्थ्यो भने विशिष्ट अतिथिमा बि.ओ.पी. बेलौरीका सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी रहनु भएको थियो । कार्यक्रमको सभापतित्व भने विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर साउदले गर्नु भएको थियो ।
नेपालमा बि.स. २०२२ साल देखि बिद्यार्थीहरुलाई यस्तो तालिम प्रदान गरिँदै आए पनि जिल्लाको दक्षिणी भेगमा यो तालिम पहिलो पटक प्रदान गरिएको विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले बताउनु भयो । उक्त तालिमले युवा वर्गलाई अनुशासित, इमानदार र बफादारताको भावना विकास गराउने नेपाली सेनाका एन.सि.सि प्रशिक्षक अर्जुन कार्कीको भनाइ छ । स्थापना कालमा राष्ट्रिय सेवा दलले प्रमाणपत्र तह अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई सिनियर डिभिजन तालिम दिने गर्दथ्यो । त्यसको सात वर्ष पछि सिनियर डिभिजन स्थगित गरेर ८ देखि कक्षा १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई जुनियर डिभिजन तालिम दिन थालियो । तर २०७० सालबाट फेरी उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि पनि सिनियर डिभिजन तालिम सुरु भएको छ ।
यस्तो छ मापदण्ड : सिनियर डिभिजनमा तालिम लिन चाहनेहरूले प्लस टु पढिरहेको र उमेर कम्तीमा १६ वर्ष पुगेको हुनु पर्छ । केटाको उचाइ कम्तीमा ५ फिट र केटीको को उचाइ ४.१० फिट हुनु पर्ने प्रावधान रहेको छ । जुनियर डिभिजनका लागि माध्यमिक तहमा अध्ययन रत १४ वर्ष उमेर पुरा भएको हुनु पर्छ । केटाको उचाइ कम्तीमा ५ फिट र केटीको उमेर ४ फिट १० हीँच हुनु पर्दछ ।
यस्तो हुन्छ तालिम : सेनाले दुई चरणमा तालिमहरू सञ्चालन गर्दछ । हरेक वर्षको साउन देखि माघ सम्म १ सय दिनको चल्ने तालिमको पहिलो चरण अन्तर्गत संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाइमा कुनै असर नपर्ने गरी तालिम सञ्चालन गरिन्छ । ७९ दिन सम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्य ज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात् फाइरिङ पनि सिक्दछन् ।
७९ दिनको तालिम पछि २१ दिनको क्याम्प तालिम हुन्छ । क्याम्पका लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज, उद्धार देखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमिङ, हाइकिङ र क्लाईम्बिङ सम्म सिकाइन्छ । तर कोरोनाका कारण यो वर्ष उक्त तालिम पनि प्रभावित बन्न पुगेको छ । ७९ दिन सम्म विद्यालयमा सञ्चालन हुने तालिम लाई ४० दिन र २१ दिनको क्याम्प तालिमलाई १६ दिनको राखिएको छ ।