कञ्चनपुर, १६ मङ्सिर । कञ्चनपुरको बेलौरीमा नेकपा एकीकृत समाजवादीले चक्र कठायतको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ । बिहीबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रथम नगर भेलाबाट चक्र कठायतको अध्यक्षतामा नगर कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य विनोद नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा एकीकृत समाजवादीको बेलौरी नगर कमिटी उपाध्यक्षमा मायाराम शर्मा र वीर बहादुर चौधरी, सचिवमा सुरेन्द्र शाही, उपसचिवमा रेशम सुनार, राम प्यारी विक र तौला राना सहित ७१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ । नगर कमिटीका पदाधिकारी र सदस्यहरूलाई भेलाका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले शपथ ग्रहण गराउनु भयो ।
त्यस्तै, उक्त भेलाले रेशम सुनारको अध्यक्षतामा नेपाल दलित मुक्ति सङ्गठनको ३५ सदस्यीय नगर कमिटी समेत घोषणा गरेको छ । सङ्गठनका पदाधिकारी र सदस्यहरूलाई नेपाल दलित मुक्ति सङ्गठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद नेपालीले शपथ ग्रहण गराउनु भएको छ । बिहीबार नै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले एकीकृत समाजवादी बेलौरी नगर कमिटीको कार्यालय उद्घाटन गर्नुभएको छ ।
कार्यालय उद्घाटन पूर्व बेलौरीमा मोटरसाइकल र्याली समेत गरिएको थियो । नेकपा एकीकृत समाजवादीका बेलौरी नगर इन्चार्ज दिलबहादुर खड्काको अध्यक्षतामा आयोजित प्रथम नगर भेलामा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाही, प्रदेश उपसचिव तारा लामा तामाङ, कञ्चनपुर इन्चार्ज लाल बहादुर खड्का, सह इन्चार्ज कुलवीर चौधरी, जिल्ला अध्यक्ष जीवनराज थापा लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
पार्टीका जिल्ला सदस्य हरिश पन्तले भेलाको सहजीकरण गर्नु भएको थियो भने जिल्ला सदस्य नन्दकुमार रानाले स्वागत मन्तव्य राख्नु भएको थियो । मृत्युवरण गरिसकेका केही नेताहरूलाई मरणोपरान्त सम्मान स्वरूप परिवारजनलाई र पार्टीमा क्रियाशील केही ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको बताइएको छ ।
नवगठित नगर कमिटीले सुकुम्बासी समस्या, महंगी, सीमा क्षेत्रका विवादहरू यथाशीघ्र समाधान गर्न र प्राकृतिक विपद्बाट पीडित नागरिकहरूलाई उचित राहत तथा क्षतिपूर्ति एवं उखुको समर्थन मूल्य तोक्न सरकारसँग जोडदार माग गर्ने लगायतका प्रस्तावहरू समेत पारित गरेको नगर कमिटीलाई उद्धृत गर्दै पार्टीका प्रदेश सदस्य विनोद नेपालीले बताउनु भयो ।