सायदै आफूलाई बचाउनको लागि बोलिएको पहिलो झुट थियो त्यो । जुन आजसम्म मैले बुबा आमालाई बताएकै छैन ।
१४ वर्षको उमेर, कक्षा ९ को पढाइ । अरूको नजरमा उमेर पुगेको, बुबा आमालाई कुटुम्बले घेरेको पिर । बढेकी, पढेकी छोरीले "नाक काट्छे" भनेर नाकको चिन्ता बुबालाई । अनेकन् बहाना बाजी गर्दै उम्केर ११ कक्षा को परीक्षा दिए । परीक्षा सकेर खुसीले बुर्लुङ्ग उफ्रेर ४ घण्टाको बाटो ३ घण्टामै घर के पुगेको थिए । खुसीमा कुठाराघात भयो । अब मेरो लागि उम्कनै नमिल्ने किसिमको साङ्लो बुनिँदै थियो त्यहाँ । जहाँ आफन्तहरू नै आएका थिए कुटुम्ब लिएर । साइनोले मेरो भदा पर्ने व्यक्तिको सालो रे । ११ मा पढ्ने १७ वर्षको । म १६ वर्षकी । बजारमा २ ठुला घर अनि गाउँमा एउटा घर, २ वटा बस गाडी समेत भएको, परिवारको एक्लो छोरो । अरू विशेषता त कति हो कति । सुनाउनु भयो आमाले । मैले सुनिरहे । अघि बिहान आइपुगेका हुन् केटो हेर्दा नि राम्रो छ । हातमा दुइटा बेरुवा औँठी लाकाे रैछ । हेर्दा पनि हुनेखाने चलाख परेको छ । मैले सोधे, सुनले के हुन्छ आमा ? के हुन्छ तँलाई नि पहेलपुर बनार राख्छन्, लाउन पाउँछेस् ।
म केही बोलिन मलाई थाहा थियो, ९ कक्षादेखि सुरु भएको मेरो चिच्याहट अब कसैले सुन्दैन । तर म आत्मसमर्पण गर्ने पक्षमा थिइन । उपाय सोच्दै थिए । केटो सहित ४ जना थिए । १ महिना अघि मेरो फोटो हेरेर अनि मान्छे हेर्न आएका रे । मन परे फुलमाला गरेर जान १ तोलाको सिक्री र औँठी ल्याकाे सालोको कुरा हजुरआमा (मेरो आमा) लाई भदा भाइले भन्न भ्याइसकेका रहेछन् । फुपू मान्नु नमान्नु फुपूलाई सालो मन पर्नु नपर्नु सरोकारको विषय नै हैन मात्रै सालोलाई फुपू मन पर्नु थियो । सालो, ससुरा, काका ससुरा सबैलाई मन परेछ । बेलुका खाना पकाएर मैले नै पस्केर दिए । भाडा माझिसकेर तलामाथि गएर बेस्कन रोए । यति रोए कि ओछ्यान पुरै भिज्यो । भोलि टिप चिना जुराउने अनि फुलमाला गरेर जाने देखि बिहेमा के के ल्याउने सबै योजना बनिरहेका छन् अगेनाको डिल वरिपरि बसेर । म एक्लै आँसुले भिज्दै उम्कने उपाय खोजिरहेथे ।
मलाई मात्रै पढ्नु थियो । "बुबाको नाक नकाटी राख्नु थियो ।" तर कसले पत्याउने ? जताततै अन्धकारमय थियो । निन्द्रा लागेन । बिहान उठे, सरसफाइ गरे, पाहुनालाई पानी चिया खुवाए । चिया खाएर टिप चिना जुराउन पुरेतको तिर लागे । मैले नाम थाहा पाए जति भगवान् पुकारे, चिना नमिलोस् भनेर । तर भगवान्ले सुनेनन् चिना मिल्यो रे । भात पकाइसकेको थिए । आमा घाँस काट्न जानुभएको थियो । फुपू चिना सारै राम्रो मिल्यो भन्दै आए । मैले भगवान्लाई धिक्कारे । टेकेको भुईँ भासिएझैँ लाग्यो । भैँसीको थलो पछाडि गएर बेस्सरी रोए । हजारौँ पटक भगवान् पुकारे मलाई बचाऊ, म भासिए भन्दै चिच्याए । छेउको देवीथान सम्म पुगे । हे भगवान् मलाई बचाउ, म बिहे गर्दिन, यिनलाई फर्काइदेऊ भनी टाउको ठोके ढुङ्गामा । केही जोड चलेन ।
खाना दे भन्नुभयो आमाले । दिन्न भनेर घुर्क्याएर धारामा गएर बसे । बुबा जानुभाे, चिना राम्रो मिल्यो भन्दै । बुबालाई चित्त दुखुन्जेल भन्नु नभन्नु भने । एक किसिमले दिमागले कामै गरेको थिएन । आमालाई पनि के के भने के के । रिसको झोँक थियो । सबैले भात खाएछन् । मलाई पटक पटक बोलाए । म खान गइन । धारा छेउ ढुङ्गामा रोएर बसिरहे बसिरहे, जड बनेर । भदा आएर धेरै सम्झाए म रिसाई रहे । अब उनीहरू सबै आएर केरकार गर्न सोध्न लागे । मैले पढ्छु, बिहे गर्दिन भनिरहे भनिरहे । उनीहरू पढाउँछौ भनेर आश्वासन दिई रहे । मैले मानिन । त्यसपछि केटोलाई आफै कुरा गर्न छोडिदिए । कुरा सुरु भयो ।उसले धन सम्पत्ति, गाडी, घर देखि फुलमालालाई ल्याएको सुनसम्म सबै भन्यो । मैले पनि केही सर्त राख्दै गए । जे सर्त नि मान्यो उम्कने बाटो कतै थिएन ।
मैले आफ्नो "चस्मा" पुछ्दै थिए फ्रकको फेरले । अचानक उसले भन्यो कति धेरै रोएकी, चस्मा लगाएकाले आँखा हेरिन । सुनिएर आँखा कति ठुला कति रातो पारिछेउ भन्दै सम्झाउँदै गयो । सोध्यो, अनि चस्मा किन लगाएको नि ? मलाई नि उम्कने ठाउँ मिल्छ कि लाग्यो र भने म त चस्मा नलगाई त आँखै देख्दिन झन् रातमा त कति पनि आँखा देख्दिन । केटो केही झस्कियो, मैले चाल पाइहाले अब त झन् पहिले केही नदेखेको औषधि गर्दा गर्दा यत्तिको देखेको भन्दै नभएको नभएको तर्साउने कुरा भने । टाउको धेरै दुख्ने रिङटा लागेर कति पटक बेहोस भएर ढले जस्ता नभएका कुरा धेरै भने । केटो डरायो । उठेर गयो । डर र खुसी बराबर थियो मेरो । उसको भिनाजु बाउ काका एकान्त गएछन् सुनाएछ । भदा आएर मलाई सोधे । अब झन् सुने जति रोगका लक्षण बताइदिए । हेर्दा नि दुब्ली थिए शङ्का गरे । बिहे नहुने भयो । बुबा आमाको आँखा रसाए । भूकम्प गयो मस्तिष्कमा । भदाले भनेछन् हजुरबुबा फुपू रोगी रैछन्, केटो मानेन ।
म भने भित्रभित्र रमाउँदै थिए । दगुरेर फेरि देवीथान पुगे भगवान्लाई धन्यवाद दिए । बुबा आमाको अनुहार मलिन थियो तर म कति खुसी थिए । बुबा आमासँग रिस उठेथ्याे सम्झाउन तिर लागिन । एक थाल भात खाए । अनि घाँस काट्न गए । रमाउँदै रमाउँदै ठुलो भारी घाँस ल्याए । मेरो खुसी बुबाको खुसी थिएन । अब पिर थियो, छोरीलाई रोगी भनेर गए, अब हल्ला हुन्छ, कसैले बिहे गर्दैन । म खुसी थिए, किनकि म न त रोगी थिए, न त बिना चस्मा नदेख्ने । त्यो त सामान्य ०.२५ पावरको चस्मा थियो । त्यसपछि आएका मगन्तेहरूसँग खासै जुध्न परेन । १४ वर्ष देखि बिहे गर्न उमेर पुगेकी म २४ वर्षमा मास्टर्सको प्रमाणपत्र लिएपछि बल्ल आफ्नो उमेर पुगेको योग्य ठाने । अनि मात्रै बिहे गरे । अहिले चस्मा लाउँदिन । बुबाको नाक पनि जस्ताको तस्तै छ । " न त नाक काटियो " नत चस्मा लाउन पर्छ । हेर्नोस् त, बुबाको नाक उस्तै छ, न त म चस्मा लगाउँछु
पङ्क्तिकार : विमला बजगाईँ (कञ्चनपुरको बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखामा संयोजक हुनुहुन्छ ।)