हरिश्चन्द्र बाग, कञ्चनपुर, १० मङ्सिर । लैंगिक हिंसाको कारक तत्त्व पहिचान गरी यथार्थपरक र वास्तविक तौरतरिकाबाट हिंसाजन्य गतिविधि विरुद्ध प्रभावकारी प्रयत्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । “घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ सुरु गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाज, सञ्चारकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी, निजामती कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन र सरोकारवाला निकाय सबैले एकाकार रूपमा अगाडि बढ्दै लैंगिक हिंसा अन्त्य गर्ने अभियानमा केन्द्रित हुनु नै आजको आवश्यकता रहेको महसुस गर्दै त्यसका लागि आफू पनि प्रतिबद्ध रहेको बताएका छन् ।
लैंगिक हिंसा महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध हो । लैंगिक हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ । यद्यपि नेपालको सन्दर्भमा लैंगिक हिंसा खास गरी पुरुषभन्दा महिलामाथि नै बढी हुने गरेको पाइन्छ । लिङ्गमा आधारित हिंसा महिला र पुरुषबिच असमान शक्ति र सम्बन्धको परिणामस्वरूप सिर्जित आपराधिक कृत्य मात्र नभई मानवअधिकारको घोर उल्लङ्घन पनि भएको सरोकारवालाहरूको ठहर छ । महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गरेको र अधिकांश महिला अझै पनि विकासको मूल प्रवाहमा आउन नसकी घरधन्दा वा चुलोचौकोमै सीमित रहनुपरेको अवस्थाले पनि लैंगिक हिंसा न्यूनीकरणमा थप चुनौती थपिएको उनीहरूको भनाइ छ । महिला हिंसाका कारण बालबालिका र वृद्धवृद्धा मात्र होइन, सिङ्गो समाज नै प्रभावित हुने गर्छ । यस्तो यातनाजन्य आपराधिक कर्मलाई सबैले आ–आफ्नो क्षेत्रबाट रोक्ने वा न्यूनीकरण गर्ने प्रयास या अभियानमा लाग्नु आवश्यक रहेकोमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरी, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य तुलसी श्रेष्ठ, वडा सदस्यहरू, शाखा अधिकृत सुशीला लेखक, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरू, वडा सचिवहरू, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमल कुमार खड्का एवं प्रतिनिधि, विभिन्न सङ्घसंस्था (निड्स नेपाल, एनएनएसडब्लुए, सँगसँगै नेपाल लगायत) का प्रमुख एवं प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, महिला समूह लगायत नागरिक समाज तथा सरोकारवालाहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाका संयोजक विमला बजगाईँका अनुसार, बेलौरी नगरपालिकाको सभा हलमा बिहीबार दिउँसो १६ दिने अभियानको उद्घाटन गरिएको छ भने उक्त अभियानको अवधिमा वडा स्तरीय विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गरिने छ ।
