कञ्चनपुर, ०३ मङ्सिर । पछिल्लो समय टिकटाकमा चर्चित अंशु बर्मा निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । "जहाँ दिनदुखी; त्यहाँ हाम्रो टिम" भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेका छन् । सोही अभियान अन्तर्गत कञ्चनपुरका टिकटाक स्टार बर्माले शुक्रबार कैलालीको गोदावरी नगरपालिकास्थित महिला तथा बालबालिका सेफ हाउसमा सहयोग गरेका हुन् ।
उनले टिकटाक लाइभमार्फत भएको आम्दानीबाट सेफ हाउसमा सहयोग गरेको बताएका छन् । सेफ हाउसलाई ३ क्विन्टल चामल, ४० किलोग्राम आलु, १५ किलोग्राम दाल, ६२ प्याकेट मिठाई र पाँच पेटी चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरेको उनले बताएका छन् । आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए ।
बेला–बेलामा विभिन्न सामाजिक कार्य गर्दै आएका बर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पीडितलाई पनि सहयोग गरेका थिए । ‘आर्थिक अवस्था कमजोर भएका र समस्यामा परेका व्यक्तिहरूलाई निरन्तर रूपमा सहयोग गर्दै आएका छौँ । जसबाट लक्षित वर्गको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ’ उनले भने ।
खाद्यान्न वितरण कार्यक्रममा वासुदेव भट्ट, लीला भट्ट, सिर्जना धामी, अमन सिंह, महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो । सेफ हाउसकी अध्यक्ष जानकी मलासीले सेफ हाउसलाई सहयोग गरेकोमा धन्यवाद दिइन् । उनले दाताका भरमा चलिरहेको सेफ हाउसलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिल्ने बताइन् । साथै उनले अन्य दाताहरूलाई पनि सहयोगका लागि आग्रह गरिन् । बर्माले यसअघि पनि सेफ हाउसमा खाद्यान्न सहयोग गरेका थिए ।