हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ कार्तिक । कार्तिक ७ गते राति कञ्चनपुरको बेलौरी स्थित डिडी अटोमोबाइल्सबाट ३ वटा नयाँ मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर बस्ने २२ वर्षीय लक्षी भनिने लक्ष्मण चुनारा, सोही ठाउँ बस्ने २० वर्षीय विवेक बम, सोही ठाउँ बस्ने १८ वर्षीय किरन नाथ, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी बस्ने १९ वर्षीय ठग्गी राना र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साह बस्ने १९ वर्षीय पारस बिष्टलाई पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।
बेलौरीको बजाज मोटरसाइकल स्वरुम समेत रहेको डिडी अटोमोबाइल्सको सिसी क्यामेरा, सटरको ताला र सिसाको ढोका फोडेर कार्तिक ७ गते अन्दाजी राति ०१ः४० बजेको समयमा ३ वटा बजाज कम्पनीका पल्सर मोटरसाइकल एक गिरोहले चोरी लगेको थियो । सोही दिन आइतबार बिहान डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र बिष्टले प्रहरीलाई खबर गरे लगत्तै अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गरी उक्त स्वरुमबाट चोरी भएका मोटरसाइकलहरू मध्ये कार्तिक ७ गते १ मोटरसाइकल, कार्तिक ८ गते १ मोटरसाइकल र कार्तिक ११ गते १ मोटरसाइकल गरी तीन वटै मोटरसाइकल फेला पारेको थियो ।
घटनामा संलग्न ५ जनालाई पनि फरकफरक समयमा फरकफरक स्थानबाट पक्राउ गरिएको र घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजि कार्य जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनु भयो । मोटरसाइकल चोरी घटनामा ३ जनाभन्दा बढी व्यक्तिहरूको संलग्नता देखिएकोले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० (चोरी तथा डाँका सम्बन्धी कसुर) को दफा २४४ को उपदफा (२) को खण्ड घ आकर्षित हुन्छ । जस अनुसार कसुरको प्रकृति हेरी पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना सजाय हुने व्यवस्था गरिएको छ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउँदले प्रहरीको अनुसन्धान कार्यलाई उपलब्धिमूलक मान्न सकिने उल्लेख गर्दै विगतमा पनि बेलौरी क्षेत्रमै सुनचाँदी पसलमा तोडफोड गरी भएको चोरी सहित विभिन्न घटनाहरूका दोषीलाई समेत यथाशीघ्र पत्ता लगाउन सके राम्रो हुने प्रतिक्रिया दिनुभयो । उहाँले सीमा क्षेत्रमा हुने प्रतिबन्धित लागु औषध कारोबारलाई रोक्न सके मात्रै पनि चोरी, लुटपाट तथा आपराधिक घटनामा न्यूनीकरण हुने भएकोले सबै पक्ष त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । चाडपर्वको समयमा शान्ति सुरक्षा प्रति विशेष ध्यान दिन अध्यक्ष साउँदले सुरक्षा निकायलाई अनुरोध गर्नुभयो ।
विगत लामो समयदेखि चोरी तथा लुटपाटका घटनामा संलग्न गिरोहले स्वरुमबाटै मोटरसाइकल चोरी गरेको छोटो समयमै संलग्न अधिकांश व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएकोमा डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र बिष्टले प्रहरीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । पेसेवर रूपमा चोरी तथा लुटपाटका घटनामा सक्रिय गिरोहलाई पक्राउ गर्न सफल नेपाल प्रहरी प्रति आम नागरिकको थप विश्वास बढेको छ । यससँगै प्रहरीले अपेक्षाकृत उपलब्धि देखाउन नसकेका विगतका केही घटनाहरूमा समेत पुनः अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने र पक्राउ परेका व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिनु पर्ने आवाज उठ्न थालेको छ ।