हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ कार्तिक । नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पाँच वटै वडाहरूमा निर्विरोध वडा कमिटी चयन गरिएको छ । शुक्रबार आयोजित वडा अधिवेशनमा नयाँ कमिटी चयन गरिएको नेकपा एमाले बेलडाँडी गाउँ कमिटी सचिवालय सदस्य शङ्कर दत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष कमल सिंह डडाल, उपाध्यक्ष लक्ष्मीराज निरौला, सचिव भान बहादुर बिष्ट तथा उपसचिव राज बहादुर चन्द र बुद्धिराम चौधरी सहित ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ को वडा कमिटीमा अध्यक्ष गणेश दत्त भट्ट, उपाध्यक्ष विमलमान थापा, सचिव कृष्ण सिंह धामी तथा उपसचिव मान सिंह खत्री र नन्दा देवी सेटी निर्विरोध चयन हुनुभएको छ । त्यस्तै, वडा नम्बर ३ को वडा कमिटीमा अध्यक्ष जय बहादुर बिष्ट, उपाध्यक्ष चित्र बहादुर चौधरी, सचिव पुष्पा कुमारी उपाध्याय तथा उपसचिव रबिन नाथ र भूपेन्द्र थापा चयन हुनु भएको बताइएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ४ को वडा कमिटीमा अध्यक्ष रतन सिंह खड्का, उपाध्यक्ष निर्मला कार्की थापा, सचिव झुप बहादुर बुढा तथा उपसचिव रमेश खड्का र करन सिंह बडाल निर्विरोध चयन हुनुभएको छ ।
त्यसै गरी, वडा नम्बर ५ को वडा कमिटीमा अध्यक्ष अम्मर बहादुर रोकाया, उपाध्यक्ष बुद्धिराम राना, सचिव हरि गोविन्द जोशी तथा उपसचिव लक्ष्मी खड्का र बिन्द्रा रोकाया चयन हुनुभएको गाउँ कमिटी सचिवालय सदस्य शङ्कर दत्त भट्टले जानकारी दिनुभयो । संवैधानिक अधिकारसहित स्थानीय तहको वडासम्मै अधिकार पुगेपछि नेकपा एमालेको वडा अधिवेशन पहिलो पटक भएको हो । देशका अधिकांश क्षेत्रमा यसअघि नै वडा अधिवेशन भए पनि वर्षाका कारण बाढी र पहिरोबाट बढी प्रभावित कञ्चनपुर सहित केही क्षेत्रमा शुक्रबार वडा अधिवेशन भएको छ । ती क्षेत्रहरूमा यही कार्तिक १५ गतेका दिन पालिका अधिवेशन हुने बताइएको छ ।