हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ र १० का बाढी प्रभावित नागरिकहरूलाई खाद्यान्न, सरसफाइ किट तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ । असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण बाढी तथा डुबानले बढी प्रभावित वडा नम्बर ८ र १० का विभिन्न बस्तीहरूमा गैरसरकारी संस्था निड्स नेपालले खाद्यान्न, सरसफाइ किट तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले जानकारी दिनुभयो ।
युनिसेफसँगको सहकार्यमा खानेपानी शुद्धीकरण ट्याब्लेट, सरसफाइका लागि हाईजिन किट तथा गैर खाद्य सामग्रीहरू र केयर नेपालको सहकार्यमा खाद्य तथा गैर खाद्य सामग्री र डिग्निटी किट (महिला सम्मान सामग्रीहरू) बेलौरी नगरपालिकासँग समन्वय गर्दै निड्स नेपालले वितरण गरेको हो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी र वडाध्यक्ष हरिलाल चौधरी समेतको उपस्थितिमा शनिबार बेलौरी नगरपालिका वडा नम्बर १० का ६५ घरपरिवारलाई उक्त सामग्री वितरण गरिएको थियो । त्यस्तै, आइतबार बेलौरी नगरपालिका वडा नम्बर ८ का ८७ घरपरिवारलाई बस्ती स्तरमै गई सामग्री वितरण गरिएको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र जोशीले बताउनु भएको छ ।
युनिसेफको तर्फबाट पानी शुद्धीकरण ट्याब्लेट, बाल्टिन, जग, केही त्रिपाल तथा हाई जिन किट (सरसफाइ सम्बन्धी प्याकेज) र केयर नेपालको तर्फबाट खाद्य सामग्री अन्तर्गत प्रतिपरिवार चामल २५ किलोग्राम, दाल ३ किलोग्राम, नुन २ किलोग्राम, खाने तेल २ लिटर, चिनी १ किलोग्राम र चिउरा १ किलोग्राम तथा गैर खाद्य सामग्री अन्तर्गत केही त्रिपाल, हाई जिन किट एवं डिग्निटी किट (महिला सम्मान सामग्री) वितरण गरिएको छ । विपद्को समयमा खाद्यान्न, सरसफाइ सहित दैनिक उपयोगका सामग्री पाउँदा प्रभावित क्षेत्रका नागरिकहरूले राहत महसुस गरेका छन् ।
यसअघि हालै आएको विपद्का कारण विस्थापित भई विद्यालयमा आश्रय लिई बसेका भीमदत्त नगरपालिका वडा नम्बर ११ र १२ का नागरिकहरूलाई खाद्य सामग्री सहयोग गरेको थियो । त्यस्तै, दोधारा चाँदनी नगरपालिका भित्रका ३५० घरपरिवारलाई युनिसेफको सहकार्यमा त्रिपाल, म्याट, कम्बल, झुल, हाई जिन किट, पानी शुद्धीकरण ट्याब्लेट वितरण गर्ने योजना अनुरूप ४२ परिवारलाई वितरण गरिसकिएको र बाँकी घरपरिवारलाई पनि सोमबारबाट वितरण गरिने बताइएको छ । अन्य प्रभावित क्षेत्रको अवस्था अध्ययन गरी आवश्यक सहयोगका लागि पहल गरिरहेको निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले बताउनु भयो ।