हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ कार्तिक । कञ्चनपुरको वेदकोट नगरपालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसी हालै आएको प्राकृतिक प्रकोप विपद्ले पुर्याएको क्षतिको लगत सङ्कलन गर्ने र प्रदेश तथा संघीय सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । वेदकोट नगरपालिकाको आयोजनामा शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठक र कार्यपालिका बैठकले आइतबार साँझदेखि बुधबार बिहानसम्म परेको भारी अविरल वर्षाका कारण नगरपालिका क्षेत्रभित्रका किसानहरूको धान बाली लगायत अन्य बालीमा पानीबाट भएको क्षति नोक्सानीको वास्तविक लगत सङ्कलन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि १० वटै वडाहरूमा शनिबार बिहान १० बजे सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षता सर्वदलीय बैठक बस्ने र उक्त सर्वदलीय बैठकले एउटा वडामा ५ जना जनप्रतिनिधिहरूको नेतृत्वमा सबै पार्टीका प्रतिनिधि रहेको सर्वदलीय संयन्त्र निर्माण गरी ५ वटा टोली बनाएर बस्ती र टोलमा गएर लगत सङ्कलन गर्ने निर्णय गरिएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो ।
त्यसरी सङ्कलन गरिएको तथ्याङ्कलाई यही कार्तिक ९ गते भित्र नगरपालिकामा पेस गर्ने र नगरपालिकाले लगत सङ्कलनमा उल्लेख भएको क्षति र नोक्सानीको तथ्याङ्क समेत संलग्न गरी क्षतिपूर्ति र राहत लगायत कृषिमा उत्पादकत्व बढाउन विशेष प्याकेजका लागि संघीय सरकार र प्रदेश सरकारलाई पठाई आवश्यक बजेट माग गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
सोही बैठकले भौतिक संरचनाहरू सिचाइ नहर, कुलो, पुल, झोलुङ्गे पुल, सडक, कल्भर्ट, खानेपानी, विद्यालय लगायतमा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत सम्भारका कार्य गर्न र नदीले कटान गरेको स्थानमा तटबन्ध गर्न यथाशीघ्र संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न माग गर्ने निर्णय समेत गरेको नगर प्रमुख चन्दले बताउनु भएको छ ।