हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ कार्तिक । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव क्रमिक रूपमा घट्दै गएको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण पानीको बहाव खतरा भन्दा माथि पुगेको थियो । महाकाली नदीमा पानीको बहाव चार लाख क्युसेकसम्म सामान्य मानिन्छ भने साढे चार लाख क्युसेक भन्दा माथि पुगेमा खतरा भन्दा माथि पुगेको बुझिन्छ । मंगलबार साँझसम्म नदीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक पुगेको थियो । यद्यपि त्यसयता निरन्तर घट्ने क्रम जारी रहेको छ । बुधबार बिहान ०९ बजे गरिएको मापन अनुसार ३ लाख १२ हजार ९ सय २८ क्युसेक, बुधबार दिउँसो घटेर २ लाख ७५ हजार ७ सय ९२ क्युसेक र बुधबार अपराह्न गरिएको मापन अनुसार अझै घटेर २ लाख ३९ हजार ९ सय २६ क्युसेक रहेको बताइएको छ ।
बस्तीमा बाढी पस्दा कञ्चनपुरको दोधारा चाँदनीका कुतीयाकबर, शान्तीटोल, बैदीफाटा र निशानीटोल लगायत कञ्चनपुर जिल्लाका थुप्रै बस्तीहरू डुबानमा परेका छन् । डुबान क्षेत्रका नागरिकहरू विद्यालय तथा उच्च भूभागका सार्वजनिक स्थलमा आश्रय लिई बसेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संघसंस्था सहित युवाहरूको समूहले उद्धार, व्यवस्थापन र राहतको कार्य गरिरहेको बताइएको छ । यसका अतिरिक्त अविरल वर्षाका कारण मोहना, दोदा, सुनबरा, स्याली, बनरा, चौधर, जोगबुडा लगायतका नदी तथा अन्य खोलानालाहरूमा आएको बाढीले जमिन कटान गरेको छ ।
आइतबार साँझदेखि अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा समेत बाढी, डुबान, कटान तथा पटानले भौतिक क्षति तथा कृषकहरूले लगाएको धान बाली, तरकारी, दलहन, तेलहन र उखु बाली तथा पशु चौपाया, पन्छीजन्य बस्तुहरू समेतको ठुलो क्षति भएको छ । बुधबार बिहानबाट भने कञ्चनपुरको मौसममा सुधार भई दिनभर घाम लागेको छ । मौसममा सुधार आएसँगै जनजीवन सामान्य अवस्था तर्फ फर्किन थालेको छ । कृषि क्षेत्रमा विपद्बाट पर्न गएको क्षतिको विवरण सङ्कलन गर्न सरकार र सम्बद्ध निकायले कार्य थालेका छन् ।