हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ कार्तिक । नेकपा (एमाले) ले प्राकृतिक विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, व्यवस्थापन र राहतका लागि संवेदनशील भई प्रभावित क्षेत्रमा उपस्थिति जनाउन राज्यका सम्बद्ध पक्षहरूलाई आग्रह गरेको छ । आइतबार साँझदेखि अविरल रूपमा भइरहेको बेमौसमी वर्षाका कारण कञ्चनपुर सहित देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानले भएको भौतिक क्षति तथा कृषकहरूले लगाएको धान बाली, तरकारी, दलहन, तेलहन र उखु बाली तथा पशु चौपाया, पन्छीजन्य बस्तुहरू समेतको ठुलो क्षति भएको र यस विषम परिस्थितिमा आम जनसमुदायले व्यहोर्नु परेको क्षति प्रति नेकपा (एमाले) कञ्चनपुरले गहिरो दुःख व्यक्त गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापा र सचिव सुरेन्द्र बिष्टद्वारा संयुक्त रूपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा वर्षा अझै लगातार रहिरहेकोले सम्भावित क्षतिप्रति सचेत रहन आम नागरिकहरूलाई अनुरोध समेत गरिएको उल्लेख छ । “यस अवस्थामा प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका कार्यमा राज्य पक्ष गम्भीर नदेखिएको आभास भइरहेकोले तत्काल जोखिममा रहेका नागरिकहरूको उद्धार, व्यवस्थापन र राहतका लागि संवेदनशील भई प्रभावित क्षेत्रमा उपस्थिति जनाउन राज्यका सम्बद्ध पक्षहरूलाई आग्रह गर्दछौँ ।” विज्ञप्तिमा भनिएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी कञ्चनपुरले जिल्लाका सबै क्षेत्रमा वर्षातका कारण अप्ठ्यारो अवस्थामा रहेका सबै नागरिकहरूको उद्धार, व्यवस्थापन र राहतको काममा आआफ्नो ठाउँमा खटिन पार्टीका सबै नेता कार्यकर्ताहरूलाई आह्वान गरेको छ । त्यस्तै उद्धार एवं सहयोगका लागि सम्पूर्ण सामाजिक संघसंस्था र आम नागरिकहरूलाई समेत नेकपा (एमाले) कञ्चनपुर अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, नेकपा (एमाले) केन्द्रीय कमिटीले समेत प्रेस वक्तव्य जारी गरेको छ । नेकपा (एमाले) केन्द्रीय कमिटीका प्रवक्ता प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको लगायतका घटनाक्रमलाई सम्बोधन गर्दै गहिरो दुःख र चिन्ता व्यक्त गरिएको छ । वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ठुलो नोक्सानी व्यहोर्न बाध्य किसानहरूको पीडाप्रति नेकपा (एमाले) केन्द्रीय कमिटीले सहानुभूति व्यक्त गरेको छ ।
प्रेस वक्तव्यमा अगाडि उल्लेख छ, “वर्षाका कारण भित्र्याउन ठिक्क परेको धान बाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । अवरुद्ध यातायात लगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरू र सङ्कटमा परेका पर्यटकहरूको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्याशित रूपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछ ।”