कञ्चनपुर, २५ असोज । दशैँ, तिहार, छठ जस्ता चाडपर्वले गाउँ–शहरमा नयाँ चहलपहल ल्याउँछ, भेटघाटको माहौल बनाउँछ । पारिवारिक बाहेक पनि साथीभाइ, आफन्त बिचमा भेटघाट हुने नै भयो । त्यसमा थपिन्छन् सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधि पनि । तर कञ्चनपुरमा भने केही फरक देखिन्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दशैँ तिहारको पूर्व सन्ध्यामा रकम वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनको समयमा निर्वाचित भएपछि आफूले पाउने तलब भत्ता बापत प्राप्त रकमलाई कञ्चनपुरका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गर्ने भनी निर्वाचनमा होमिएका एक मनकारी वडाध्यक्ष भुन्टुले तलब भत्ता बापत प्राप्त भएको रकम वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गर्दै आएका छन् ।
भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) ले तलब भत्ता बापत प्राप्त भएको रु. ३ लाख ९२ हजार भत्ता रकम वडामा रहेका १४२ जनालाई वितरण गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई वितरण गरेका हुन् ।
‘ जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोग स्वरूप दिएको हुँ ’ उनले प्रतिक्रिया दिएका छन् । रकम वितरण गर्दै उनले आफ्नो कार्यकाल भरीको भत्ता सुविधा रकम समाजकै परोपकारी काममा लगाउने बताएका छन् । ‘असहाय, असक्त, ज्येष्ठ नागरिकहरू मेरा अभिभावक हुन्, उनीहरूकै आशीर्वादले म राजनीतिमा अघि बढ्ने छु ’ वडाध्यक्ष कुँवरले भने ।
वडाध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकहरूमा खुसीयाली छाएको छ । उनीहरूले अध्यक्ष कुँवरको जयजयकार गर्दै आशीर्वाद समेत दिएका छन् । 'यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका छौँ ' भीमदत्त नगरपालिका वडा नम्बर १ का ८८ वर्षीय लालबहादुर कुँवरले खुसी हुँदै भने, ‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौँ ’ उनले भने, ‘तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौँ ।’
स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायतको क्षेत्रको विकास समेत भएको स्थानीयको भनाइ छ । जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त रहेका खबर सुनिरहँदा आफूहरूले वडामा मनकारी, समाजसेवी तथा विकास प्रेमी वडाध्यक्ष पाएको स्थानीय वृद्धा पार्वती देवी पाण्डेयको कथन छ ।