हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीको आयोजनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार सिँचाइ भवनको प्राङ्गण कालिकिचमा नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीका अध्यक्ष लक्ष्मण सिंह भाटको अध्यक्षतामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष वीर बहादुर थापा (पातल) रहनु भएको थियो ।
उक्त भेलामा वेदकोट नगरपालिकाका जन निर्वाचित नगर प्रमुख अशोक कुमार चन्द, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री, बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरी, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की, नेकपा (एमाले) कञ्चनपुर जिल्लाका नेताहरू पल्लवराज भट्ट, अक्कल बहादुर बिष्ट, रामचन्द्र रेग्मी, गणेश उपाध्याय, भीम बहादुर थापा, रामसिंह धामी लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
भेलामा सम्बोधन गर्ने वक्ताहरूले देशको समसामयिक परिस्थिति, गठबन्धन सरकारका अलोकतान्त्रिक गतिविधि, एमसिसि सम्झौता, नेकपा एमाले बिभाजन लगायतका सम्बन्धमा चिन्ता र चासो देखाउनु भएको छ । त्यस्तै, एमाले विभाजनमा लागेका नेता कार्यकर्ताहरूलाई बाटो नबिराउन अनुरोध गर्दै देशभर नेकपा एमालेमा उत्साहजनक रूपमा विभिन्न पार्टीहरूबाट नेता कार्यकर्ताहरू प्रवेश गरिरहेका कारण बाहिरिएका नेता कार्यकर्ताहरू सबैलाई एमालेमै एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरू कटौती गरी वर्तमान सरकारले कार्यकर्ता मुखी बजेट ल्याएको वक्ताहरूको आरोप छ । भेलामा नेकपा (एमाले) बेलडाँडी गाउँ कमिटीका कार्यालय सचिव शङ्कर दत्त भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने गाउँ कमिटी सचिव गणेश बहादुर बिष्टले कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गर्नुभएको जानकारी युवा संघ नेपालका केन्द्रीय सदस्य कृष्ण कुमार रोकायाले दिनुभयो ।