हरिश्चन्द्र बाग, कञ्चनपुर । प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल छैटौँ चरण अन्तर्गत कञ्चनपुरको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठकमा जिल्ला स्तरको फिल्डको काम प्रक्रिया बारेमा जानकारी सहित सल्लाह सुझाव संकलन गरिएको छ । दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको आयोजनामा शुक्रबार बैठक सञ्चालन गरिएको थियो ।
जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा आयोजित जिल्ला स्तरीय संवाद तथा सल्लाहकार समितिको बैठकमा सरोकारवालाहरूलाई केन्द्रको काम, कर्तव्य र पछिल्ला गतिविधिहरूका विषयमा जानकारी गराइको प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति लक्ष्मी साउदले बताउनु भयो । उहाँका अनुसार, सोही बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिहरूसँगै सरोकारवालाहरूबाट सल्लाह सुझाव समेत संकलन गरिएको छ ।
बैठकबाट माकुरा समूहको क्षमता विकास थप गरी नदी तथा खोलाको गिट्टी, बालुवा सम्बन्धी विवाद पहिचान गर्नुपर्ने, गिट्टी तथा बालुवाको ठेक्कापट्टा सम्बन्धी आइए, ईआइए व्यवस्थित गर्नुपर्ने, ठेक्कापट्टा दिने बारेमा स्थानीय निकायको आवाज सुनुवाइ गरिनु पर्ने, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन लगायतमा समन्वय गरिनु पर्ने, बन संरक्षणका लागि स्थानीयको सहभागिता बनाई संरक्षणमा सहयोग गर्ने वातावरण तयार गर्ने र प्राकृतिक श्रोतका विवादहरू द्वन्द्व प्रक्रियामा संस्थाले अहम् भूमिका खोल्नुपर्ने लगायतका सुझावहरू संकलन गरिएको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङको अध्यक्षतामा बैठक सञ्चालन भएको थियो । बैठकको सहजीकरण प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति लक्ष्मी साउदले गर्नुभएको थियो भने स्वगत मन्तव्य प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल पश्चिम क्षेत्रीय संयोजक बल्लु चौधरीले गर्नुभएको थियो । समग्र बैठकका बारेमा पूर्व राष्ट्रिय श्रोत व्यक्ति धर्मान्नद पन्तले जानकारी गराउनु भएको थियो । जल, जमिन र जङ्गलसँग सम्बन्धित विवादहरू समाधानमा सहजीकरण गर्दै मेलमिलापको क्षेत्रमा कार्यरत संस्था प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ ।