कञ्चनपुर । कञ्चनपुरमा माइती नेपालको अगुवाइमा सामाजिक सेवा दिवसको अवसरमा छलफल तथा घरदैलो कार्यक्रम गरिएको छ । “सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता, नतिजामुखी कार्यक्रमका लागि भौगोलिक तथा विषयगत क्षेत्रको प्राथमिकता” भन्ने मूल नाराका साथ ४२ औँ सामाजिक सेवा दिवस विभिन्न क्षेत्रका सरोकारवाला व्यक्ति र प्रहरीसँग मानव बेचबिखन तथा ओसारपसार विरुद्ध छलफल तथा सचेतनामूलक घरदैलो कार्यक्रम गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।
भीमदत्त नगरपालिका वडा नम्बर १३ स्थित प्रहरी चौकी झोलुङ्गे पुलको प्राङ्गणमा बुधबार आयोजित एक दिने छलफल कार्यक्रममा दोधाराचाँदनी नगरपालिका वडा नम्बर २ र ३ का वडाध्यक्षद्वय कमलापति भट्ट र पुष्कर दत्त जोशी, प्रहरी चौकी झोलुङ्गे पुलका इन्चार्ज प्रताप बहादुर थापा मगर, अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलका इन्चार्ज राम बहादुर कार्की, भीमदत्त नगरपालिका वडा नम्बर १३ का समाजसेवीहरू बहादुर सिंह, खेमराज ऐरी, गणेश सिंह रावल, होटेल व्यवसायी राम बहादुर बोहरा लगायत दोधाराचाँदनी र भीमदत्त नगरपालिकाका समाजसेवी, बुद्धिजीवी र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको बताइएको छ ।
झोलुङ्गे पुलको वारी र पारी दुवै क्षेत्रमा मानव बेचबिखन तथा अन्य अपराधका क्रियाकलाप बढ्दै गएको अवस्थामा उक्त क्षेत्रका सरोकारवाला, स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनलाई ४२ औँ सामाजिक सेवा दिवसका अवसरमा ध्यानाकर्षण गराउँदै समाजमा जरो गाडेर बसेको मानव बेचबिखन जस्तो जघन्य अपराध तथा विभिन्न विकृति, विसङ्गतिलाई न्यूनीकरण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताउनु भयो ।
उक्त छलफल कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था, दलालहरूले अपनाउने नयाँनयाँ तौरतरिकाहरू लगायत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभावका बारेमा गहन छलफल गरी आपराधिक गतिविधिमा संलग्न दलालहरूको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिँदै गएको हुँदा उक्त मानवता विरोधी अपराध लगायत मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण तथा निर्मुलीकरण गर्न सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गरी माइती नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रहरी प्रशासनले अपराध न्यूनीकरणका लागि सदैव तत्पर रही कार्य गर्दै आएको प्रहरी चौकी झोलुङ्गे पुलका इन्चार्ज प्रताप बहादुर थापा मगरले बताउनु भयो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न थोरै कठिनाइ रहने भए पनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्यूनीकरणका लागि माइती नेपालसँग समन्वय र सहकार्यमा सदैव काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
पछिल्लो समयमा माइती नेपालले दोधाराचाँदनी नगरपालिकामा पनि आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी काम गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घटनाहरू कम हुँदै आएको आभास सम्पूर्ण स्थानीयहरूले गरेको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुष्कर दत्त जोशीको भनाइ छ । माइती नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि मानव बेचबिखनको क्षेत्रमा सक्रिय भएर काम गर्न अनुरोध प्रेरित गर्नुभएको छ । उहाँले स्थानीय सरकारले गर्न सक्ने सहयोग पूर्ण रूपमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
स्थानीय समाजसेवी एवम् होटेल व्यवसायी राम बहादुर बोहराले नेपालमा अशिक्षा, खुला नाका, बेरोजगारीका कारण विभिन्न आपराधिक घटनाहरू बढ्दै गएको अवस्थामा मानव बेचबिखन जस्तो जघन्य अपराध पनि बढ्दै गएको उल्लेख गर्नुभयो । उक्त समस्यालाई कुनै एक व्यक्ति वा एक तह तप्काको समस्या हो भनेर नलिई सम्पूर्ण मानवको समस्या हो भनी प्रत्येक व्यक्तिले समाजलाई सचेत पार्न जिम्मेवारी लिनुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ । कार्यक्रमले समाजमा केही गर्नुपर्ने जिम्मेवारी बोध गराएकोमा माइती नेपाललाई धन्यवाद समेत दिनुभएको छ ।
छलफल कार्यक्रम लगत्तै प्रहरी प्रशासनसँगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका वडा नम्बर १३ का विजय टोल र सुनापुर टोलका ७० घरधुरीमा मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, बाल विवाह, कोरोना भाइरस, सुरक्षित बसाइसराइका बारेमा घरघरमा गई स्थानीयहरूलाई यस्ता आपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घटना घटेको खण्डमा माइती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामूलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा १९३ महिला, २३८ पुरुष, १११ बालक र ६८ बालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।