कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नेकपा (एमाले) को बेलौरी नगर स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा नेकपा (एमाले) बेलौरी नगर कमिटीका अध्यक्ष बाबुराम न्यौपानेको सभापतित्वमा नगर स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज निरु देवी पाल रहनु भएको थियो । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय लेखा समिति सदस्य ईश्वरी प्रसाद खरेल, जिल्ला अध्यक्ष वीर बहादुर थापा, बेदकोट नगरपालिकाका जन निर्वाचित नगर प्रमुख अशोक कुमार चन्द, पार्टीका नेताहरूमा पल्लवराज भट्ट, बलदेव सिंह बुडाल, कमला बोहरा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले देशको समसामयिक परिस्थिति, गठबन्धन सरकारका अलोकतान्त्रिक गतिविधि, एमसिसि सम्झौता, नेकपा एमाले बिभाजन लगायतका सम्बन्धमा चिन्ता र चासो देखाउनु भएको छ । त्यस्तै, एमाले विभाजनमा लागेका नेता कार्यकर्ताहरूलाई बाटो नबिराउन अनुरोध गर्दै देशभर नेकपा एमालेमा उत्साहजनक रूपमा विभिन्न पार्टीहरूबाट नेता कार्यकर्ताहरू प्रवेश गरिरहेका कारण बाहिरिएका नेता कार्यकर्ताहरू सबैलाई एमालेमै एकताबद्ध हुन आग्रह गर्नुभएको छ । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरू कटौती गरी वर्तमान सरकारले कार्यकर्ता मुखी बजेट ल्याएको वक्ताहरूको आरोप छ ।
नगर स्तरीय कार्यकर्ता भेलामा कोभिड १९ सुरु भएपछि मृत्युवरण गर्नुभएका १६ जना नेता तथा कार्यकर्ताहरूलाई मरणोपरान्त सम्मान स्वरूप निजका घरपरिवारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेले बताउनु भयो । मरणोपरान्त सम्मानित हुने व्यक्तिहरूमा यस क्षेत्रका अग्रज एमालेका नेता एवं साबिक रामपुर गाउँ विकास समितिका पूर्व गाविस अध्यक्ष तथा २०५६ सालमा सांसद पदका उम्मेदवार समेत रहनुभएका चन्द्र लाल चौधरी, जाजरकोट जिल्ला थालारैकर गाविसमा २०५४ सालमा निर्वाचित गाविस अध्यक्ष भई बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर बसाइसराइ गरी लामो समयसम्म पार्टीमा सक्रिय प्रेम बहादुर शाही, नगर कमिटी सदस्य धनसरा महत्तरा रहनु भएको छ ।
त्यस्तै, पार्टीको काममा निरन्तर खटिने कार्यकर्ताहरू कलकत्ताका भीम बहादुर चौधरी, शिवनगरका डबल लुहार, पौलाहाका ठग्गु चौधरी, बैसाखीका टेक बहादुर शाही र खडक बहादुर शाही, खिरियाका खडक बहादुर बुढा क्षेत्री, रतनपुरका दशरथ सिंह ऐरी र प्रताप सिंह साउद, कानपुरका मदन दमाई, बुटावारीका दिनेश सुनार, भगतपुरका रामनाथ चौधरी, गोकुलपुरका दिवान राना र रामनगरका माधुराम चौधरीलाई समेत मरणोपरान्त सम्मान गरिएको हो । कार्यक्रममा २५० जना नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा हस्त बहादुर विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर कमिटी सचिव लोकेन्द्र जोशीले कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गर्नुभएको बताइएको छ ।