कञ्चनपुर, २३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा १४ जना युवा उद्यमीलाई बिना धितो, बिना ब्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैङ्क लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो । उहाँका अनुसार, भीमदत्त नगरपालिकाले नेपाल बैङ्क लिमिटेडसँगको सहकार्यमा प्रति उद्यमी पाँच लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने कार्यक्रम सुरु गरेको र सोही बमोजिम ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत बुधबार पहिलो चरणमा छनौट भएका १४ जनालाई चेक हस्तान्तरण गरिएको हो ।
भीमदत्त नगरपालिकामा आयोजित सहुलियतपूर्ण कर्जा चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सुरेन्द्र बिष्ट, आर्थिक विकास समिति संयोजक डम्बर बहादुर कार्की, बैङ्कका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद जोशीले संयुक्त रूपमा उद्यमीलाई चेक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बैङ्कका शाखा प्रबन्धक जोशीले बिना धितो सहुलियत कर्जाबारे जानकारी गराउनु भएको थियो । उहाँले नगरपालिकाको सिफारिस अनुसार बैङ्कले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवाहरू, महिला उद्यमी र दलित समुदायलाई व्यवसाय विकास कर्जामा समेट्ने गरी गरी पाँच प्रकारका कर्जा लगानी गरिरहेको बताउनु भयो ।
बैङ्कले पहिलो चरण अन्तर्गत ६७ लाख ४० हजार कर्जा लगानी गरेको शाखा प्रमुख जोशीले बताउनुभयो । बैङ्कले दिपेश केरा फर्मलाई दुई लाख ५० हजार, रोजी पोल्टी फर्मलाई चार लाख ९० हजार र अन्य व्यावसायिक फर्मलाई ५÷५ लाख कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवर्द्धन गर्न कर्जा लगानी गरेको उहाँको भनाई छ । नगरपालिकाको सिफारिसमा बैङ्कले बिना धितो, बिना ब्याज उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको ब्याज तिरिदिने सहमति भएको छ । २०७७ कार्तिक २७ गते बैङ्क र नगरपालिकाबिच मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत ऋण प्रभाव तथा ब्याज अनुदान सम्बन्धी सम्झौता भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशीलताको विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । ‘हातमा सीप भएका र केही गर्ने इच्छा भएका युवाहरूले पुँजीको अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ’ नगर प्रमुख बिष्टले भन्नुभयो ‘नगरपालिकाले व्यवसाय सुरुवातसँगै त्यसको प्रवर्द्धनका लागि लगानी स्वरूप ऋणमा ब्याज अनुदान सहयोग गरेको हो, सबैले उत्पादनसँग जोडिन सक्यो भने देश आत्मनिर्भर र समृद्धितर्फ अघि बढ्छ ।’ नगर प्रमुख बिष्टले उद्यमशीलता विकास कार्यक्रम निरन्तर चलिरहने बताउनु हुँदै दोस्रो चरणको सहुलियत कर्जाका लागि प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन समेत दिनुभयो ।
कर्जा लगानीले पुँजीको अभावमा रहेका व्यवसायीलाई सहयोग पुग्ने उल्लेख गदैँ नगर प्रमुख बिष्टले भन्नुभयो ‘बजारको मागका आधारमा आयातित वस्तु भन्दा सस्तो मूल्यमा हामीले वस्तु उत्पादन गर्न सक्नु पर्दछ । त्यसले व्यवसाय सबल बन्छ, राष्ट्रिय पुँजी निर्माणमा पनि सहयोग पुग्छ ।’ उहाँले अगाडी भन्नुभयो ‘अरूको सिको गर्नु भन्दा पनि सबैले केही नयाँ गर्ने र भएको कुरालाई फरक तरिकाले गर्न सके मात्रै व्यवसाय फस्टाउन सक्छ, त्यता तर्फ युवाले सोच्नु जरुरी छ ।’ त्यस्तै नगरपालिकाले कार्यक्रमबारे आम नगरवासीलाई जानकारी गराउँदै बढी भन्दा बढी उद्यमीलाई कार्यक्रममा जोड्ने र आवश्यता अनुसार सीपमूलक तालिमको आयोजना गरिने समेत नगर प्रमुख बिष्टको भनाइ छ ।
भीमदत्त नगरपालिकाले चाँडै दोस्रो चरणको सहुलियत कर्जाका लागि आवेदन खोल्ने तयारी गरिरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक डम्बर कार्कीले बताउनु भयो । उहाँका अनुसार आवेदन सङ्कलन गरी कार्यविधि अनुसार कर्जाका लागि उद्यमी छनौट गरिने छ । त्यस्तै, सहुलियत कर्जा पाउनु भएका जित पार्कीले बिना धितो, बिना ब्याज कर्जा पाएकोमा खुसी लागेको बताउनु भएको छ । वैदेशिक रोजगारीका लागि भारतमा रहनु भएका पार्की स्वदेशमै उद्यम गर्न नेपाल फर्किनु भएको हो । उहाँले पोल्ट्री फर्म सञ्चालन गरिरहेको बताउनु हुँदै कर्जाले व्यवसाय विस्तार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।