विकास सिंह महता, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका तीन दाजुभाइ युवाले महेन्द्रनगरमा एक आधुनिक उद्योग सञ्चालन गरेका छन् । बेलडाँडी गाउँपालिका–१ कञ्चनपुरका युवा सन्तोष सुनार, दिनेश सुनार, नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन् । तीनै दाजुभाइले एक वर्ष अघि भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योग खोलेर व्यवसाय सुरु गरेका थिए । करिब वर्ष दिन नपुग्दै उद्योगको स्तर वृद्धि गरेका छन् । अहिले भीमदत्त नगरपालिका ४ भाँसी महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगबाट बस्तु उत्पादन सुरु गरेका छन् । तीनै दाजुभाइ गाउँकै सामुदायिक रौलेश्वर उच्च माविमा अध्ययन गरेका थिए । सानैदेखि मेहनती भएका कारण उनीहरू दाजुभाइ मिलेर उद्योग सञ्चालन गरेका छन् ।
बुधबार भाँसी स्थित महेन्द्रनगरमा स्थापना गरिएको एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगको भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उद्घाटन गरेका छन् । ग्रामीण भेगमा हुर्किएका युवाको मेहनत, आँट र कर्मको मेयर सुरेन्द्र विष्टले प्रशंसा गरेका छन् । मेयर विष्टले युवा शक्ति विदेश पलायन भन्दा यसरी सिकेको सीप र श्रमको सदुपयोग गर्दै आर्थिक समुन्नततर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । मेयर विष्टले युवा पुस्ताले सीप, श्रम, प्रविधि, पुँजी र बजारको खोजी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा सुझाव दिँदै नगरपालिकाको तर्फबाट युवा उद्यमका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
ब्रह्मा एस.एन.डी.यूपिभिसीका प्रबन्ध निर्देशक दिनेश सुनारले उच्च आधुनिक प्रविधिको उद्योग कञ्चनपुरको पहिलो भएको बताए । ‘यस्तो प्रकृतिको उद्योग यस अघि सुदूरपश्चिममा हाम्रो मात्रै थियो, ‘उनले भने, ‘अहिले कैलालीमा एक खुलिसकेको छ, कञ्चनपुरका लागि यो पहिलो नै हो ।’ ५० लाख लागतमा उद्योग स्थापना गरिएको प्रबन्धक सुनारले बताए । ‘हामी तीन दाजुभाइ मिलेर काम गरिरहेका छौँ, ‘उनले भने, ‘साइँला दाजुले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गरिरहेको छौँ ।’ उनका अनुसार दैनिक १५० सम्म झ्याल ढोका उत्पादन भई रहेका छन् । उद्योग सञ्चालनमा आएसँगै ८ जना स्थानीयले रोजगारी पाएका छन् । ‘हामीले उद्योग एक वर्ष पहिले नै स्थापना गरेका थियौँ, ‘उनले भने, ‘त्यहाँ सानो मेसिन छ, अब ठुला मेसिनबाट काम भइरहेको छ ।’
झ्याल र ढोका ध्वनि सहित, अक्सिजन सहित बलियो भएकाले उपभोक्ताले रुचाएको उनले बताए । जर्मनी प्रविधिबाट झ्याल र ढोका निर्माण गरिने प्रबन्ध निर्देशक सुनारले बताए । ‘यो नितान्त आधुनिक प्रविधिबाट उत्पादन गरिन्छ, ‘उनले भने, ‘फलाम र स्टिल भन्दा कैयन गुना बढी राम्रो छ, त्यही भएर ग्राहकले रुचाइरहेका छन् ।’ उद्योगमा उत्पादन भएको बस्तु सुदूरपश्चिम प्रदेश भरी खपत भइरहेको बताउँदै उनले निकट भविष्यमै थप सेवा विस्तार हुने बताए । सरकारी, गैर सरकारी एव निजी घर, कार्यालय निर्माण गर्दा बढी माग आइरहेको उनले बताए । ‘सबै काम मेसिनबाटै अटोमेटिक हुन्छ, ‘उनले भने, ‘मानवीय जनशक्ति त अपरेटिङ्ग मात्रै हो ।’ काठ अभाव भई रहेका बेला बजारमा यूपिभिसी झ्याल ढोकाको माग वृद्धि भएसँगै उनले उद्योगको स्तरबृद्धि गरेका छन् ।
प्रबन्ध निर्देशक दिनेशका साइँला दाजु नरेश सुनार सात वर्ष अघि वैदेशिक रोजगारीका लागि बिदेसिएका थिए । उनी साउदी अरबमा ढोका तथा झ्याल निर्माण गर्ने उद्योगमा कार्यरत थिए । दुई वर्ष अघि पहिलो चरणमा देखिएको कोरोना महामारीका बेला नरेश स्वदेश फर्किएका थिए । ६ वर्ष विदेशमा सिकेको सीप उनले स्वदेशमा उद्योगमा लगाइरहेका छन् । भित्रको काम पुरै काम उनकै निर्देशनमा भइरहेको छ । आधुनिक मेसिन मार्फत झ्याल ढोका निर्माण गरिरहेका छन् । ‘म वैदेशिक रोजगारीमा थिए, ‘उनले भने, ‘त्यहाँ सिकेको सीप आफ्नो मातृभूमिमा प्रयोग गरिरहेको छु ।’
कोरोना महामारीका कारण स्वदेश फर्किएका नरेशले दुई दाजुभाइसँग मिलेर उद्योग सञ्चालन गरेका हुन । ‘मैले विदेशमा हुँदा यही काम गरेको हुँ, ‘उनले भने, ‘विदेशमा गर्ने काम आफ्नो मातृभूमिमा गर्ने पहिलेदेखि सोच्थे, आज आएर गरिरहेको छु ।’ अर्का उद्योग सञ्चालक सन्तोष सुनारले उद्योग सञ्चालनमा आवश्यक निर्देशन एव सुझाव सल्लाह दिँदै आएका छन् । आधुनिक प्रविधिबाट झ्याल ढोका उत्पादन हुन थालेपछि यहाँका घर, कार्यालय भवन निर्माणकर्तालाई समेत सहज र सुविधा भएको छ । तीनै दाजुभाइ मिलेर आफू, समाज र देश विकासका लागि गरिरहेको भूमिका बारे स्थानीय एव उनीहरूका सहकर्मीले समेत प्रशंसा गरिरहेका छन् ।