हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ भदौ । स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मञ्च सुदूरपश्चिम प्रदेश समितिले पूर्णता पाएको छ । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित मञ्चको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाले कार्यसमितिमा ४ सदस्य थप गर्नुका साथै सल्लाहकार समिति र विधान समिति गठन गरेसँगै मञ्चको प्रदेश समितिले पूर्णता पाएको हो । केही दिन अघि डडेलधुरामा आयोजित भेलाबाट लोकेन्द्र राज भट्टको अध्यक्षतामा प्रदेश समिति गठन गरिएको थियो । उक्त समितिको उपाध्यक्षमा कमल बहादुर बुढा र धारणा पोख्रेल, सचिवमा ओमनाथ ढकाल, कोषाध्यक्षमा निलम भट्ट चन्द, सहसचिवमा दीपेश बजगाईँ सहित १७ सदस्यीय प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो ।
सोही समितिले विमला भट्ट, मिना थापा, गीता बोहरा र रञ्जना बुढालाई बुधबारको भेलाबाट कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । त्यस्तै, सतिश बहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरूमा दीपेन्द्र कुँवर, टेक राना, टेकेन्द्र भण्डारी, दीपक कसारा, हेमराज अवस्थी र जगदीश जोशी चयन हुनु भएको छ । भेलाले अध्यक्ष लोकराज भट्टको संयोजकत्वमा ४ सदस्यीय विधान समिति पनि गठन गरेको छ । विधान समितिका सदस्यहरूमा सुनिल चन्द, प्रकाश बाबु सुवेदी र सुरेन्द्र भट्ट चयन हुनुभएको छ ।
भेलाले सबै जिल्लाहरूमा पालिका स्तरीय र जिल्ला स्तरीय समिति गठन गर्ने, अस्थायी तथा करार कर्मचारीहरूको हकहितका लागि सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउन ८८ वटै स्थानीय तहहरूमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरूको हस्ताक्षर सङ्कलन गर्ने, अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको लगत सङ्कलन गर्ने र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सचिवालय राख्ने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष लोकराज भट्टले बताउनु भयो । यही भदौ ११ गते डडेलधुरामा भएको प्रदेश स्तरीय भेलाको समीक्षा गर्दै उक्त भेला सभ्य र भव्य रूपमा सम्पन्न भएको र समितिलाई कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा राखी विशुद्ध कर्मचारीहरूको हकहितका लागि एकजुट भई अगाडि बढ्ने निर्णय समेत गरिएको छ ।